Logo

जङ्गबहादुलाई कार्ल मार्क्सले किन भने बेलायतका ‘बफादार कुकुर’



रिपोर्टर्स नेपाल। जङ्गबहादुर पश्चिमाहरूको विशेष चासोमा परेको पहिलो नेपाली शासक हुन् । एशियाली शासकहरूमध्येबाट औपचारिक निम्तो पाएर बेलायत पुग्ने उनी पहिलो हुन् ।

सन् १९५०–५१ को बेलायत यात्राका क्रममा उनको मान सम्मान भयो । उनले बेलायतबाट धेरै सिकेर आए । मुलुकी ऐन जारी गरे । नेपालको सीमा विस्तार गरे । लखनऊमा भएको सिपाही विद्रोह दबाएर अंग्रेजबाट बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता गरे । जसलाई नयाँ मुलुक पनि भनिन्छ । कुटनीतिक चार्तुयताबाट राज्यको सीमा विस्तार गर्ने सँसारका थोरै शासकमध्ये जङ्गबहादुर एक हुन् ।

जङ्गका कारण फिर्ता भएको भूमी कर्णाली र महाकाली नदी बग्ने तराई क्षेत्र हुन् । यसकारण पनि ती क्षेत्रको महत्व छ । जङ्गबहादुर पछिका कुनै पनि शासकले नेपालको भूमि विस्तार गर्न सकेका छैनन् । बरु उल्टै गुमाएका छन् । देशको भूमि जोगाउन पनि नसक्नेहरु जङ्गबहादुरलाई इतिहासकै क्रुर र झुर शासकका रुपमा चिनाउन चाहन्छन् ।

जङ्गबहादुर निकै प्रभावशाली र चर्चित थिए । उनको नाम नेपाल र दक्षिण एशियामा मात्र नभई यूरोपमा समेत फैलिएको थियो । कार्ल मार्क्सले उनको कडा आलोचना गर्दै ‘बेलायतको वफादार कुकुर’ भनेका छन् । तर, तिनै मार्क्सले आफ्नो मुख्य कृति डास क्यापिटल बेलायतमा बसेर लेखेका थिए ।

बेलायत यात्राका क्रममा जङ्गबहादुरको शान र ऐयासी जीवनयापनबारे धेरै उल्लेख पाइन्छ । तीन महिना बसाईंका क्रममा रानी भिक्टोरियासँग भेटे । त्यहाँका उच्च पदस्थ अधिकारीसँग भेट्नुका साथै उनको स्वागतमा भव्य कार्यक्रमहरू राखिए ।

बेलायतमा खूबै मस्ती गरेको विषय अझै इतिहासकारका लागि खोजीको विषय बनेको छ । सुन्दरी लौरा वेलसँगको प्रेम र यौन सम्बन्ध इतिहासमा सुरक्षित छ । लौराको नाम बेलायतका शक्तिशाली व्यक्तिहरूसँग जोडिएको छ । जसमध्ये तत्कालिन बेलायती प्रधानमन्त्री ग्लाडस्टोन पनि छन् ।

जङ्गबहादुरले लौराको लागि साढे दुई लाख पाउण्ड खर्च गरे । महङ्गो उपहार दिए । उनीसँग नजिकिएर बसाईं लम्बाउन खोजे । तीन महिना बेलायत बसाईं नलम्बाउन साथमा गएका भाईहरू जगत शमशेर र धीर शमशेरले देशमा हुनसक्ने राजनीतिक षड्यन्त्रतर्फ ध्यानाकर्षण गराउँदै फर्कन सम्झाएका थिए ।



प्रतिक्रिया दिनुहोस्