Logo

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिन



काठमाडौँ, २३ जेठ । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ ।

आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा नसक्नेलाई स्थानीय क्वारेन्टिनमा राख्ने तयारी गरिएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले स्वेच्छिकरूपमा होटल क्वारेन्टिनमा समेत राख्न सक्ने व्यवस्था भएअनुसार होटल क्वारेन्टिन व्यवस्थित गर्न जिल्लास्थित होटल व्यवसायीसँग समन्वय भइरहेको जनाएको छ ।

केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले विदेशबाट फर्किएकामध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई होटल क्वारेन्टिन तथा नसक्नेलाई स्थानीय क्वारेन्टिनमा राख्ने तयारी गरिएको बताएका छन् । उनले भने, “होटल व्यवसायीले क्वारेन्टिन व्यवस्थित गर्न सहयोग गर्ने भएका छन्, हामी होटललाई समेत क्वारेन्टिन बनाउने तयारीमा जुटिसकेका छौँ ।”

नेपाल–भारत सीमानाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका काभ्रेलीलाई सम्बन्धित व्यक्तिको बसोबास रहेको स्थानीय तहसम्म पु¥याउन स्पष्ट ठेगानासहित सूचना आदान–प्रदान गर्न र सहजीकरण गर्न धुलिखेलस्थित नेपाली सेनाको विष्णुदल गणलाई जिम्मेवारी दिइएको छ । साथै स्थानीय तहमा रहेका क्वारेन्टिनलाई १०० श्ययाको बनाउने तयारीसमेत भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हालसम्म भारतबाट आएका करिब ३०० काभ्रेली स्थानीय तहका क्वारेन्टिनमा बसेका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्