Logo

लकडाउन खुलाउन कस्सिए उद्योगमन्त्री भट्ट, व्यवसायीहरुसँग गम्भीर छलफल



काठमाडौं, २३ जेठ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट लकडाउन खुकुलो बनाउन लागिपरेका छन् । उनी सुरुदेखिनै लकडाउनको स्वरुप परिवर्तन गरेर अघि बढ्नुपर्ने पक्षमा उभिँदै आएका छन् । मन्त्री भट्टले लकडाउनका कारण बन्द रहेका उद्योग, कलकारखाना र व्यवसाय विस्तारै खुलाउनुपर्नेगरि आफ्नो मन्त्रालयको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ प्रस्ताव लिएर गएका छन् । आजमात्रै पनि उनले व्यवसायीहरुसँग लकडाउनको ‘मोडालिटी’ परिवर्तनबारे छलफल गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ, चेम्बर अफ कमर्सलगायतसँग सम्बन्धित उद्योगी व्यवसायीले निरन्तर भइरहेको लकडाउनले गर्दा व्यवसाय धरापमा परेको भन्दै मोडालिटी परिवर्तनबारे छलफल गरेको मन्त्री भट्टले पत्रकार ऋषि धमलालाई जानकारी दिए । लकडाउनको मोडालिटीबारे छलफल भइरहेकाले चाँडै नै व्यवसाय सञ्चालन गर्ने गरी मोडालिटी तयार हुने मन्त्री भट्टको विश्वास छ ।

व्यवसायीले लकडाउन परिवर्तन गर्ने मोडालिटीका बारेमा दिएको सुझाव आफूले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा कुरा राख्ने पनि मन्त्री भट्टको भनाई छ ।

उनले अन्य देशको जस्तो लकडाउन खोल्न मोडालिटी नेपालको नहुने भन्दै प्रदेश र जिल्लाअनुसार मोडालिटी फरक हुने बताए । मन्त्री भट्टले प्रदेश नं २, कर्णाली र सूदुरपश्चिम प्रदेशमा भारतबाट आएका सङ्क्रमित बढीरहेकाले ती क्षेत्रमा मोडालिटी फरक हुनेसमेत उल्लेख गरे । कोभिड–१९ का कारणले मुलुक गत चैत ११ गतेदेखि लकडाउनमा रहेको छ । मन्त्री भट्टले लकडाउनका बेला खाद्यवस्तु ओसारपसारमा अवरोध गर्नेलाई कारवाही गरिनेसमेत बताए ।



प्रतिक्रिया दिनुहोस्