Logo

लमजुङमा पनि फल्यो स्याउ



काठमाडौँ, २४ जेठ । लमजुङमा पनि स्याउ फल्न थालेको छ । यसअघि हिमाली जिल्लामा स्याउ फल्दै आएकामा पछिल्लो समय पहाडमा पनि स्याउ फल्न थालेको हो ।

क्व्होलासोंथर गाउँपालिका–१, बाग्लुङपानीमा रोपिएको स्याउ फलेको वडाध्यक्ष पेमा गुरुङले बताएका छन् । उनका अनुसार बाग्लुङपानीको जनज्योति माध्यमिक विद्यालय परिसरमा रोपिएको बोटमा स्याउ फलेको छ । स्याउ राम्रो फल्न थालेको यहाँका स्थानीयले बताएका छन् । विद्यालयका प्रधानाध्यापक बिलप्रसाद गुरुङका अनुसार धुलिखेलबाट ल्याएर लगाइएको स्याउको बेर्ना हुर्किएर फल्न थालेको छ ।

यो क्षेत्रमा तरकारी खेतीसम्बन्धी अध्ययन भए पनि तरकारीभन्दा स्याउको सम्भावना रहेको भनेपछि विद्यालयले स्याउको बिरुवा रोपेको प्रअ गुरुङले बताएका छन् । उनका अनुसार विद्यालयले खर्च बेहोर्नेगरी बिरुवा ल्याएर रोपिएका थिए । एभ्रिथिङ अर्गानिक नर्सरी धुलिखेलका प्राविधिकले स्याउ लगाउन उपयुक्त ठाउँ, लगाउने तरिकाको बारेमा जानकारी गराएअनुसार विद्यालयका शिक्षक, स्थानीयले स्याउ लगाउने तरिका, कटिङ गर्ने तरिकाको बारेमा तालिम लिएका थिए ।

सुरुमा प्रयोगात्मक रूपमा ६७ वटा स्याउको बिरुवा रोपिएको थियो । उक्त बिरुवा हुर्किंदै गएर स्याउ फल्न थालेको छ । समुद्री सतहदेखि एक हजार ५०० देखि ७०० मिटरसम्म फल्ने जातको स्याउ लगाइएको उनले बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्