Logo

सडक पहुँचमा क्वारेन्टिन



काठमाडौँ, २४ जेठ । वर्षायाम शुरु भएपछि सडक पहुँच भएका ठाउँमा क्वारेन्टिन बनाउन आग्रह गरिएको छ । अधिकांश कच्ची सडक भएकाले सडकको राम्रो पहुँच भएको ठाउँमा क्वारेन्टिन बनाउन भनिएको हो ।

सातवटै स्थानीय तहलाई क्वारेन्टिन बनाउँदा जान र आउन सहज होस् भनी सो आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिएका छन् । जिल्लाका सबै ठाउँमा रहेका विद्यालयमा क्वारेन्टिन बनाएर प्रयोगमा ल्याइएको छ । सामुदायिक भवन तथा अन्य संरचना नभएका कारण विद्यालय भवन क्वारेन्टिनमा परिणत भएका छन् ।

“गाउँ–गाउँका विद्यालयमा क्वारेन्टिन बनाउँदा बिरामीलाई जाँच गर्न र उपचारका लागि असहज हुने भएकाले सडकको पहुँच भएको ठाउँमा मात्र बनाउन आग्रह गरेका छौँ”, प्रजिअ पन्तले भने, “सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पस, त्रिभुवन मावि खलङ्गामा रहेको क्वारेन्टिनमा ठाउँ नभएपछि गाउँ–गाउँमा क्वारेन्टिन बनाएर बाहिरबाट आएकालाई राखिएको छ ।”

सबै स्थानीय तहलाई यातायातका साधन तयारी हालतमा राख्न आग्रह गरिएको छ । गाउँमा पानी पर्ने बित्तिकै सडक अवरुद्ध हुने गर्दछन् । जथाभावी निर्माण गरिएका सडकमा १२ महिना यातायातका साधन सञ्चालन गर्न सक्ने अवस्था छैन । (रासस)



प्रतिक्रिया दिनुहोस्