Logo

के श्यामशरण नेपाल आएकै हुन् ?



काठमाडौं, २४ जेठ । नेपालका लागि राजदुत समेत रहिसकेका भारतका पूर्व विदेश सचिव श्यामशरण फेरि एकपटक चर्चामा आए । सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्शा जारी गर्न लाग्दा नै उनी नेपाल आएको चर्चा चल्यो । उनी राजधानीको पाँचतारे होटलमा बसेर विभिन्न राजनीतिक दलका नेताहरुसँग कुराकानी गरेको सम्मका हल्लाहरु भए ।

नेपालको राजनीतिमा चासो राख्ने र नेपाल मामलामा लेख्दै समेत आएका श्यामशरणलाई तत्कालिन सात राजनीतिक दल र विद्रोही माओवादीबीच भएको १२ बुँदे समझदारीका योजनाकार पनि भन्ने गरिन्छ । नेपालमो राजनीतिमा उनले माइक्रोमेनेजमेन्ट गरेको विषय बेला बेलामा उठ्ने गर्छ । भारतसँगको सम्बन्धमा तलमाथि हुँदा उनी सक्रिय हुनेगरेको खबरहरु आइरहन्छन् । त्यसैले लकडाउनमा स्थलमार्ग हुँदै श्यामशरण नेपाल आए भनेर हल्ला हुनुलाई आश्चर्य मान्न सकिदैन ।

वास्तवमा श्यामशरण नेपाल आएको रहेनछन् । रिपोर्टर्स नेपालले त्यसबारे खोजी गर्दा उनी भारतमै रहेको पत्ता लाग्यो । लकडाउन भएदेखि श्यामशरण देहरादुनमा रहँदै आएका छन् । विश्वस्त स्रोतका अनुसार उनी देहरादुनको शितल मौसममा गर्मी छलिरहेका छन् ।

लकडाउनमा विमान सेवा पनि ठप्प र यातायात पनि गुड्न नदिएको अवस्थामा जोखिम मोलेर पनि श्यामशरण आए भन्ने हल्ला धेरैले पत्याए पनि । आखिर नेपालको राजनीतिमा केही भइहाल्यो कि भारतका राजनीतिक खेलाडीहरु आइहाले भन्ने नभएको होइन । विगतमा पनि कहिले के भी राजन त कहिले करण सिंह आएको इतिहास साक्षी छ । जनआन्दोलनमा सीताराम यचुरी र डा. डीपी त्रिपाठी खुबै नेपाल आउँथे । पछिल्लो समय भगतसिंह कोशियारी आउने गर्र्र्थे । तर, उनी महाराष्ट्र राज्यको गर्भनर भएर मुम्बईमा छन् ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्