Logo

भारत र चीनबीच सैन्य तहको वार्ता, नेपालबारे के कुरा होला



काठमाडौं, २४ जेठ । लदाखको लाइन अफ एक्चुअल कन्ट्रोलको चीनतर्फ भारत र चीनबीच वार्ता भएको छ । सैन्य तहमा भएको वार्ता सिमा समस्या समाधानमा केन्द्रित छ । जसमा सँसारको ध्यान गएको छ ।

लदाखको चुसुल मोल्डो सिमानाका नजिकै वार्तामा दुवै देशका लेफ्टिनेन्ट जनरल तहको नेतृत्वमा वार्ता चलेको छ । विहान भारतीय समय अनुसार विहान साँढे ८ बजे शुरु हुने भनिएको वार्ता साँढे ११ बजे मात्र शुरु भएको थियो ।

भारत र चीनले रणनीतिक महत्वको लदाख, सिक्किम, उत्तराखण्डको नाका वारीपारी सैन्य उपस्थिति बढाएपछि युद्धको कालो बादल मडारिएको थियो । स्थति असामान्य बन्दै गएपछि दुवै देशले वार्ताबाट समाधान निकाल्दैछन् ।

भारतका तर्फबाट तीन तारे जर्नेल जनरल हरिन्द्र सिंहले वार्ताको नेतृत्व गरेका छन् । यसअघि हिजो भारत र चीन दुवै देशका राजदुतहरुले भिडियो कन्फरेन्समार्फत् शान्तिपूर्ण वार्ताबाट मतभेद अन्त गर्ने सहमति गरेका थिए । उनीहरुले विवाद बढ्न नदिनेमा जोड दिएका थिए ।
लाइन अफ एक्चुअल कन्ट्रोल भनिने भारत र चीनबीचको सिमामा पछिल्लो समय तनाव बढ्दै जाँदा सैन्य तहमा वार्ता हुन लागेको हो । लदाखमा चीनले सैन्य बल बढाएको छ । भारतले पनि सैनिक उपस्थिति बढाएको छ । यसले दुवै देशबीच टकरावको स्थिति बनेको थियो । दुवैले सिमा क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गर्न थालेपछि विवाद बढेको हो ।

यसैगरी, भारत र चीनबीचको वार्तालाई नेपालमा पनि चासोका साथ हेरिएको छ । नेपालले नयाँ नक्शा जारी गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी त्रिदेशीय सिमा क्षेत्र हो । नेपालको भारतसँग सिमा विवाद छ । भारत र चीनबीच पनि उक्त क्षेत्रमा विवादहरु छन् । दुवैले सैन्य उपस्थिति बढाएका छन् । आज सैन्य तहको वार्तामा त्रिदेशीय सिमा क्षेत्रको विषय पनि उठ्न सक्ने हो कि भन्ने चासो लिइएको छ ।

यसअघि भारतका सेनापति एम एम नरवाणेले नेपालले भारतले लिपुलेक हुँदै बनाएको लिंकरोडमा आपत्ती जनाएकोलाई कसैको उक्साहट भनी चीनतर्फ इंकित गरेका थिए । कालापानी क्षेत्र भारत र चीन दुवैको चासोको सामरिक महत्वको क्षेत्र हो । त्यसैले यी दुई देशबीच सिमाका विषयमा वार्ता हुँदा यी विषयहरु समेटिनसक्छन् ।- एजेन्सीको सहयोगमा Photo Source: Indian Express



प्रतिक्रिया दिनुहोस्