Logo

बाँकेमा बन्दाबन्दीलाई थप कडाइ



राँझा, २३ जेठ : जिल्ला प्रशासन कार्यालय बाँकेले बारअनुसार पसल खोल्न दिने निर्णय खारेज गर्दै बन्दाबन्दीलाई पुनः कडाइ गरेको छ । बजार र पसल व्यवसाय सञ्चालन गर्दा कोरोना सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएकाले सो निर्णयलाई खारेज गरेर बन्दाबन्दीलाई थप प्रभावकारी बनाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

यसअघि जिल्ला प्रशासन कार्यालयले सर्वदलीय बैठक गरेर बारअनुसार पसल व्यवसाय खोल्न दिने निर्णय गरेको थियो । अत्यावश्यक र दैनिक उपभोग्य वस्तुसँग सम्बन्धितबाहेक अन्य पसल सञ्चालनमा रोक लगाएको छ ।

उहाँका अनुसार जिल्लामा अब बिहान ११ देखि दिनको ३ बजेसम्म अत्यावश्यक र दैनिक उपभोग्य वस्तुसँग सम्बन्धित पसल मात्र सञ्चालन गर्न प्रशासनले सूचना जारी गरेको छ । बारअनुसार पसल सञ्चालन गर्न दिने निर्णयको भोलिपल्ट बिहीबारमात्रै ४२ नयाँ सङ्क्रमित थपिएपछि प्रशासनले निर्णय फिर्ता लिई बन्दाबन्दीलाई पूर्णरूपमा पालना गर्न आग्रह गरेको छ ।

जिल्लामा सङ्क्रमितको सङ्ख्या २५५ पुगेको छ भने ४० जनाले कोरोना पराजित गरी घर फर्किएका छन् । पछिल्लोपटक बिहीबार जानकी गाउँपालिकामा भेटिएका ४० जनालाई वडा नं २ जोगागाउँमा आइसोलेसन केन्द्र बनाइ व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । रासस File photo



प्रतिक्रिया दिनुहोस्