Logo

नेपालमा एकै दिन कोरोना संक्रमणबाट दुई जनाको मृत्यु पुष्टि, कुल मृतक संख्या १३



काठमाडौं, २४ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । आज एकै दिन दुईजना मृतकको कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

मृतकमध्ये डोल्पाका ५८ वर्षीय पुरुष र कैलालीकी ५५ वर्षीया महिला छन् । उनीहरु दुवैको मृत्युपछि नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको देवकोटाले जानकारी दिए ।

जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय पुरुषको २१ जेठको विहान २ बजे मृत्यु भएकोमा स्वाब परीक्षणका क्रममा कोरोना भाइरसको पुष्टि भएको हो । सुर्खेतमा कामको सिलसिलामा अस्थायी रुपमा बस्दै आएका उनी १६ जेठमा डोल्पा पुगी घरमै बसेका थिए । उनको होम क्वारेन्टाइनमै मृत्यु भएपछि परीक्षणका लागि स्वाब लगिएको थियो ।

सेती अञ्चल अस्पतालमा ५५ वर्षीया महिला धनगढी ४ की हुन् । मृगौला रोगी उनको डायलसिस गर्ने क्रममा २३ जेठमा मृत्यु भएको थियो । सेती अस्पतालमा डायलसिसका लागि आउँदा त्यही बेलामा मृत्यु भएको उनको कोरोना संक्रमण भेटिएको थियो ।

आजको मृत्यु पुष्टिसँगै नेपालका कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । कुल मृतकमध्ये १० पुरुष र ३ महिला छन् ।



प्रतिक्रिया दिनुहोस्