Logo

नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका १३ जना को को (विवरणसहित)



काठमाडौं, २४ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । मृतकमध्ये १० पुरुष र ३ महिला छन् ।

आज थप दुई जना मृतकमा कोरोना संक्रमण देखिएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार मृतक पुरुष डोल्पाका र महिला कैलालीकी हुन् ।

डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु २० जेठमा भएको थियो । जगदुल्ला गाउँपालिका ३ घर भएका उनको नमुना परीक्षणका लागि स्वाब संकलन गर्न निकै कठिन भएको खुलेको छ । स्थानीय स्वास्थ्यकर्मीलाई नमुना संकलन गर्न लगाइएकोमा २२ जेठमा मात्र प्रयोगशाला पुर्याइएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा दुई दिन लगाएर नमुना पुगेको र आज मात्र कोरोना भाइरसको संक्रमण पत्ता लागेको हो । सुर्खेतमा कामको सिलसिलामा अस्थायी रुपमा बस्दै आएका उनी १६ जेठमा डोल्पा पुगी घरमै बसेका थिए । उनको होम क्वारेन्टाइनमै २० जेठमा मृत्यु भएपछि परीक्षणका लागि स्वाब लगिएको थियो ।

हिजो मृत्यु भई कोरोना संक्रमण पत्ता लागेकी सेती अञ्चल अस्पतालकी ५५ वर्षीया महिला धनगढी ४ की हुन् । मृगौला रोगी उनको डायलसिस गर्ने क्रममा २३ जेठमा मृत्यु भएको थियो । सेती अस्पतालमा डायलसिसका लागि आउँदा त्यही बेलामा मृत्यु भएको उनको कोरोना संक्रमण भेटिएको थियो ।

यसअघि सुर्खेतका पुरुषको हिजो मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु पुष्टि भएका २० वर्षीय युवक ७ जेठमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

पञ्चपुरी नगरपालिका १ हाँसे घर भएका उनको त्यतिबेला परीक्षण गर्दा नेगेटिभ आएपछि २२ जेठमा घर गएकामा त्यहीं मृत्यु भएको थियो । युवकको परीक्षणबाट पोजेटिभ आएको पुष्टि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गरेका छन् ।

पाल्पाका एक पुरुषको मृत्यु पुष्टि भएको थियो । उनी सिलुवाखोलाका ४५ वर्षीय पुरुष हुन् । उनी स्थानीय क्वारेन्टाइनमा राखिएको र स्वास्थ्यमा गडबडीपछि तीन दिन अघि मिसन अस्पताल पाल्पामा लगिएको थियो ।

उपचारका क्रममा ती पुरुषको २० जेठमा मृत्यु भएको थियो । स्वाब संकलनका क्रममा संक्रमण पत्ता लागेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । मृतक पुरुष पाँच दिन अघि भारतबाट आएका थिए ।

२१ जेठमा थप एकजनाको मृत्यु भएको थियो । मृतक पुरुष १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र १५ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको थियो । मृतकलाई यसअघि हेमोरेजिक स्ट्रोक भएको र अपरेशन भएको थियो । उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको थियो ।

१७ जेठमा मृत्यु भएका दैलेख दुल्लु नगरपालिका घर भएका ३५ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । दुल्लुस्थित पटांगिनी बजारको क्वारेन्टाइनमा रहेका उनी एक्कासी ढलेको र केही समयपछि मृत्यु भएपछि परीक्षणका लागि जुम्लामा स्वाब परीक्षणका लागि लगिदा संक्रमण पुष्टि भएको थियो ।

यसअघि सिन्धुपाल्चोककी महिला, बाँके, पाल्पा र गुल्मीका पुरुष, बाराका वृद्ध, ललितपुरका र अर्घाखाँचीका पुरुषको मृत्यु भएको थियो ।

कोरोना संक्रमणबाट मृत्यु भएकाको विवरण

१. सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला । उनी १० दिनको सुत्केरी थिइन् । २ जेठमा निधन भई ३ जेठमा कोभिड १९ को संक्रमण पत्ता लागेको

२. बाँकेको नरैनापुरका २५ वर्षीय युवक । ३० वैशाखमा भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका । ४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लागेको ।
३. गुल्मीका ४१ वर्षीय शिक्षक । ५ जेठमा रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका । जन्डिस समेत भएका उनको ८ जेठको विहान निधन भएको ।
४. बाराका ७० वर्षीय वृद्ध । क्षयरोग र स्वास प्रश्वासको समस्याका कारण २ जेठमा अस्पताल भर्ना भई ४ जेठमा मृत्यु भई १२ जेठमा संक्रमण पुष्टि भएको ।
५. ललितपुर बुङमतीका ५६ वर्षीय पुरुष, १२ जेठमा किष्ट अस्पताल भर्ना भई १४ जेठमा मृत्यु भएको छ । १५ जेठमा संक्रमण पुष्टि
६. अर्घाखाँचीको भुमिका स्थान घर भएका ३५ वर्षीय पुरुष, भारतबाट फर्किदा १० जेठमा बाटोमै मृत्यु भई परीक्षणबाट कोरोना संक्रमण पुष्टि, १६ जेठमा संक्रमण पुष्टि
७. दैलेखको दुल्लु नगरपालिका खागितडाका ३५ वर्षीय पुरुष । पटांगिनी बजार दुल्लुको क्वारेन्टाइनमा ढलेर बेहास भई केही समयमा मृत्यु । स्वाब परीक्षणका क्रममा १७ जेठमा कोरोना संक्रमण पुष्टि
८. बाजुराको बुढीगंगा नगरपालिका धुरालसैनकी २ वर्षीया बालिका । बाबुआमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टाइनमा रहेकोमा १८ जेठको विहान मृत्यु भएको । १० जेठमा भारतबाट सपरिवार आएकी ।
९. दोलखा घर भएका ७६ वर्षीय पुरुष, १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र हेमोरेजिक स्ट्रोक भई शल्यक्रिया गरी १५ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको ।
१०. पाल्पा सिलुवाखोलाका ४५ वर्षीय पुरुष । स्थानीय क्वारेन्टाइनमा राखिएको र स्वास्थ्यमा गडबडीपछि १९ जेठमा मिसन अस्पताल पाल्पामा लगिएको थियो । उपचारका क्रममा उनको २० जेठमा मृत्यु भएको थियो । २२ जेठमा कोरोना संक्रमण पुष्टि भएको
११. सुर्खेत पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवक । ७ जेठमा भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका । परीक्षण गर्दा नेगेटिभ आएपछि २२ जेठमा घर गएकामा त्यहीं मृत्यु भएको थियो । मृत्यु भएपछि नमुना परीक्षणका क्रममा २३ जेठमा कोभिड १९ पुष्टि भएको
१२. डोल्पाका ५८ वर्षीय पुरुष । जगदुल्ला गाउँपालिका ३ घर भएका उनको २० जेठमा मृत्यु भएको । नमुना परीक्षणका लागि स्वाब संकलन गरी २२ जेठमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइएको । २४ जेठमा कोरोना संक्रमण पुष्टि भएको
१३. कैलालीकी ५५ वर्षीया महिला । धनगढी ४ की मृगौला रोगी उनको डायलसिस गर्ने क्रममा २३ जेठमा मृत्यु भएको थियो । सेती अस्पतालमा डायलसिसका लागि आउँदा त्यही बेलामा मृत्यु भएको । २४ जेठमा कोरोना संक्रमण पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्