Logo

कुकुरले लखेटेर इनारमा फसेका बेलायती नागरिकको छ दिनपछि उद्धार



२५ जेठ : इन्डोनेसियाको बालीमा कुकुरले लखेटेर भाग्ने क्रममा इनारमा फसेका बेलायती नागरिकको छ दिनपछि सकुशल उद्धार गरिएको इन्डोनेसियाली अधिकारीले बताएका छन् ।

उनान्तीस वर्षीय याकोब रोवट्र्सलाई चार मिटर गहिरो इनारका लागि खनिएको खाल्डोमा फसेको अवस्थामा एक एथानीय किसानले देखेपछि उद्धारका लागि गाउँलेलाई खबर गरेका थिए ।

गाईलाई घाँस दिन जाँदा एक विदेशीले सहयोगका लागि याचना गरेको सुनेका किसानले गाउँले र प्रहरीलाई घटनाबारे जानकारी गराएपछि रोवट्र्सको उद्धारका गर्न उद्धार टोली त्यहाँ पुगेको उद्धार टोलीका प्रमुख गेडे दर्मादाले एएफपीलाई बताउनुभयो ।

भाग्ने क्रममा खाली इनारमा खस्दा रोबट्र्सको खुट्टा भाँचिएको बताइएको छ । रोबट्र्सले इन्डोनेसियाली अधिकारीसँग गाउँबाट आएको एउटा कुकुरले धपाएपछि कुकुरलाई छलेर भाग्ने क्रममा इनारमा खसेको बताएका छन् ।

“शनिबार इनारबाट निकाल्दा रोबट्र्स निकै थकित, दुब्लो र घाइते देखिएका छन्,” साउथ कुटाको प्रहरी प्रमुख युसाक अगस्टिनस सुआईले बेलायती नागरिकको उद्धारपछिको दृष्यलाई बताउनुभएको छ ।

रोबट्र्सलाई उद्धारपछि उपचारका लागि नजिकैको अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।एएफपी



प्रतिक्रिया दिनुहोस्