Logo

‘लिम्पियाधुरा नेपालको भाग हो भनेर म पनि स्विकार गर्दिन्, तपाईले भनेर हुन्छ ?’ : गिरी (भिडिओसहित)



काठमाडौं, २६ जेठ । समाजवादी पार्टीकी सांसद तथा पूर्वमन्त्री सरिता गिरीले नेपाल, भारत र चीनबीचको सिमा निश्चित हुनुपर्ने बताएकी छिन् । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भनिन्,’भारत र चीनको बीचमा लगभग ३५ सय किलोमिटरको सिमा छ । र, नेपाल र भारतको बीचमा लगभग १८ सय किलोमिटर सिमा छ । भारत र नेपालमा त दुवै सरकारले भनेअनुसार ९८ प्रतिशत समस्या समाधान भैसकेको छ । सुस्ता र कालापानीको अब २ प्रतिशत समस्या बाँकी छ । भारत र चीनको बीचमा हेर्नुहुन्छ भने धेरै ठाउँमा अनिर्णित छ । यी ब्रिटिशहरुले छोडेर गएका सिमा हुन् । हतार हतारमा सबै गाको छ । भारत र पाकिस्तानको बीचमा सिमा युद्ध भाको छ । त्यो ब्रिटिशहरुको लिगेसी हो । भारत र पाकिस्तानबीचको सिमांकन जुन व्यक्ति आईकन गरे, तीन महिनामा गरे । जब त्यसपछि भारत र पाकिस्तानमा एकखालको द्धन्द्ध, गृहयुद्धको अवस्था सुरु भयो, त्यो मानिस, नक्शाविद नमरुञ्जेलसम्म आफूलाई माफी गर्न सकेनन् । मैले हतार हतारमा सिमा बनाएँ । भन्दाखेरि यो ब्रिटिश लिगेसी हो । त्यसैले अब चाहीँ सिमामा जहाँ विवाद छ । सबै पक्ष सरकारले नक्सा र सबुत लिएर टेबुलमा बस्नुपर्यो नि । यो टेक्निकल विषय हो ।’

उनले अहिले लोकतान्त्रिक व्यवस्था भएकोले आफू सहमत नभएको विषयमा विरोध गर्न पाउनुपर्ने तर्क गरिन् । उनले सिमा विवादको सम्बन्धमा आफू जानकार नभएको बताउँदै उक्त विषय सिमाविदले जान्ने कुरा भएको तर्क गरिन् । उनले भनिन्-‘म एक्सपर्ट होईन । तपाईपनि होईन । यदि नेपालले नयाँ नक्साको बारेमा कुरा ल्याईरहेको छ भने त्यो पनि प्रमाण र सबुत त नेपालसँग हुनुपर्यो । २०५४ सालमा योगी नरहरीनाथले सर्वोच्च अदालतमा मुद्दा गरेका हुन् । उहाँको देहान्त भईसक्यो । उहाँको माग के थियो भने सुगौली सन्धिअनुसारको सम्पूर्ण जग्गा नेपालले फिर्ता पाउनुपर्छ । त्यो बेलामा सरकारको प्रतिनिधित्व गर्नेमा सूर्यबहादुर थापा हुनुहुन्थ्यो । उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो । कमल थापा विदेशमन्त्री । उहाँहरुले सर्वोच्च अदालतमा के जवाफ लेखेर दिनुभाको रहेछ भने १९५० को सन्धिको आधारमा पछिल्लो सम्पूर्ण सन्धि अब निरस्त भईसक्यो । भ्वोईड भईसक्यो । र, त्यसले गर्दा १९५० को सन्धिको आधारमा, त्यसपश्चात् हामीले जुन जग्गा पाएका छौं, त्यो नेपाल हो । हामीलाई चाहिँदैन् । जब सरकारले त्यो भनिसकेपश्चात् योगी नरहरीनाथको रिट ६ वर्षको बहसपछि २०६० सालमा खारेज भयो । नम्बर वान । अब म दोस्रो कुरा के भन्छु भने नेपालको उदय भईसकेपछि पहिलोचोटी नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बनेको हो । संयुक्त राष्ट्रसंघको सदस्य बन्नको लागि १९५५ मा प्रजातान्त्रिक सरकार थियो । राजा त्रिभुवन हुनुहुन्थ्यो । सायद १९५५ मा । मातृकाजी प्रधानमन्त्री हुनुहुन्थ्यो । अनि राणाहरुको सहभागिता थियो सायद मोहनशमशेर हुनुहुन्थ्यो क्यारे । त्यो १९५५ को समयमा नेपालले यु.एनमा नक्सा एउटा पठाएको छ । युनाईटेड नेशन्सको सदस्यता लिने बेलामा नेपालको जुन नक्सा स्विकृत भाको छ, नेपाल अन्तर्राष्ट्रीय समूदायमा त्यो नक्साविपरित जान सक्दैन् । त्यसैले गर्दा यो राष्ट्रवादको नाममा जनतालाई भ्रमित गर्ने काम यो सरकारले गरिराछ । आफ्नो कमजोरी लुकाउनको लागि, आफ्नो असफलता लुकाउनको लागि ।’

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो नि, यसबारेमा नेपालसँग सबै प्रमाण छ भनेर पत्रकार धमलाले सोध्दा सांसद गिरीले भनिन्-‘तपाई अहिले देखाउनुहुन्छ ? यदि १८१६ को सन्धिको कुरा गर्ने हो भने हामी त्यो भन्दापनि अगाडि गईकन गढवाल कुमाउपनि मागौं न भारतसँग । सहमतिमा । मित्रतामा । जब राणा प्रधानमन्त्रीको मित्रता, ईष्ट ईण्यिा कम्पनीसँग थियो । १८६७ को गदरमा । यहाँको प्रधानमन्त्रीले सेना दिएर पठाए । मित्रवत व्यवहारमा चार वटा जिल्ला पाए । १८१६ को युद्धमा पनि तत्कालिन शासकहरु पराजित भाका थिए, तर मित्रवत ढंगाले यहाँका शासकहरुले भने यदि तराईको यदि तराईको जग्गा हामीसँग हुँदैन भने हाम्रो राज कसरी चल्छ ? र, ब्रिटिशहरुले पनि के बुझे भने यदि यहाँ खानापिना हुँदैन भने अनि युद्ध समाप्त हुँदैन । युद्ध कहाँ हुन्छ ? युद्ध कुन स्थानमा हुन्छ ? जहाँ भित्र खानेपिनेको अभाव हुन्छ ।’

लिम्पियाधुरा, कालापनी, लिपुलेक नेपालको हो भन्ने कुरा नेपालसँग धेरै प्रमाण र ऐतिहाँसिक तथ्यांक छ र यी कुराहरु बाहिर आईसकेका छन् भनेर पत्रकार धमलाले सुनाउँदा गिरीले भोगचलन नभएको प्रतिक्रिया दिईन् । उनले भनिन्,’कालापानी मात्र किन ? हामी त्यो भन्दा अघि पनि ग्रेटर नेपाल, १८६० को सन्धिपछि लिम्पियाधुरा छैन् । लिम्पियाधुराको बारेमा विवाद छ । प्रधानमन्त्रीले स्वयम भन्नुभाछ ।’

नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा नेपालको हो, जसरीपनि फिर्ता ल्याउँछु भन्नुभएको छ ? तपाईले सुन्नुभएको छैन भनि धमलाले राखेको प्रश्नमा उनले भनिन्,’लिम्पियाधुरा मैले नेपालको नक्सामा कहिल्यैपनि देखेको छैन् । यो विवादको सार के हो भने नेपालको भारतसँग कुनैपनि कन्फ्रन्टेशनको ईस्यु म चाहीँ देखिराखेको छैन् । कन्फ्रन्टेशन कहाँ छ ? भारत र चीनको बीचमा छ । र, नेपालले अहिले जुन लिम्पियाधुरासम्म लगेको छ । तल कालापानीमा भारतको सेना ६० वर्षदेखि बसिराछ । त्यसले गर्दा एउटा शंका चाहीँ के आयो भने यो एडभान्टेज नेपालले चीनलाई दिनको लागि अहिलेको सरकारले गरिराखेको छैन ? यो अप्राकृतिक रुपमा । र, किनभने प्रश्न गर्ने ठाउँ छ । तपाई कालापानीको मात्रै कुरा किन गर्दैहुनुहुन्छ। हिमाली क्षेत्रका चार जिल्लाको ३८ हेक्टर जमिन चीनले मिचेको छ । म सँग आधार र प्रमाण छ । नेपालको नापी विभागले गरेको सर्वेअनुसार नेपालको चार वटा हिमाली जिल्ला रुकुम, हुम्ला, गोरखा र सिन्धुपाल्चोकमा चाहीँ चीनले नेपालको जमिन मिचेको छ । के को लागि ? तिब्बतबाट सिमावर्ती क्षेत्रमा सडक बनाउनको लागि । जसरी अहिले पिथौरागढबाट लिपुलेकको सडक जुन भारतले बनायो । त्यसमा १७ किलोमिटरमा विवाद छ । कालापानी क्षेत्रको बारेमा । भारत र नेपालको दाबी छ । उहाँहरुले सल्टाउनुहुन्छ । चीनले पनि भनिसक्यो । तर, मेजर इस्यु कहाँ हो भने भारत र चीन । उसले पनि आफ्नो सिमामा सडक बनाईरहेको छ । भारतले पनि बनाईराछ । र, यो अवस्थामा यदि चीनलाई एडभान्टेज दिनको लागि नेपालले कुनै प्रस्ताव ल्याएको छ भने हामी मधेशका व्यक्तिहरु, हामी नेपाल र भारतको बीचमा विशेष, मित्रवत सम्बन्धको पक्षधर छौं । नेपाल र भारतको बीचमा युद्ध होस भनेर हामी कहिल्यैपनि कल्पना गर्न सक्दैनौं । त्यसले गर्दा वार्ताबाट यो समस्याको समाधान हुनुपर्छ ।’

सन् १९६२ को युद्धपछि कालापानीलगायत १७-१८ वटा ठाउँमा भारतीय सेना रहेको सुनाउँदै गिरीले भनिन्,’सबै ठाउँबाट भारतीय सेना हट्यो, तर कालापानीमा हटेन । किन ? नम्बर वान, त्यो बेलामा राजा महेन्द्रले भारतलाई मात्रै सहयोग गरेका होईनन् । नेपाल र भारतको बीचमा १९५० को सन्धि छ । राजा महेन्द्रले नेपालको सुरक्षाको लागि पनि सेना बसाएका हुन् । किनभने १९५९ मा चीनले तिब्बतलाई कब्जा गरेको छ । अनि के राजा महेन्द्रलाई नेपाल जोगाउनुपरेन ? नम्वर टु, अब यहाँ एउटा तर्क के आउँछ भने-होईन कालापानीमा त त्यतिकै बस्न दिएको छ राजा महेन्द्रले । अनि त्यसैले गर्दा त्यो सेना हट्नुपर्यो । अब लास्टमा आउँछु, त्यही हर्क गुरुङको रिपोर्ट, हिमाल पत्रिकाको टोनी हेगन फाउण्डेशनको लागि १९६३ अगाडिको नक्सामा अलिकति चुच्चो देखाएको छ । तर, १९६३ पछिका नक्सामा त्यो छैन् । अब यहाँनिर प्रश्न के उठ्छ भने, मेरो प्रश्न हो-यदि राजा महेन्द्रले त्यतिकै बस्न थिए भने हर्क गुरुङ, जोकी राजा महेन्द्रका त्यति नजिकका व्यक्ति थिए । अत्यन्त विश्वासपात्र थिए उनले नक्सामा किन परिवर्तन गरे ? नक्सा परिवर्तन किन भयो ? सन् १९६१ मा राजा महेन्द्र चीनपनि जानुभएको छ । त्यो बीचमा सिमासम्बन्धी सन्धि भाको छ । र, १९६३ भन्दा अघिको नक्सा हेर्नुहुन्छ भने उत्तरी भागमा पनि नेपालका धेरै भागहरु जुन पहिला थिए ती भाग १९६३ को नक्सामा छैन् । यसको मतलव राजा महेन्द्रले के कारणले होला मलाई थाहा छैन् ? म नक्सा हेरिराछु चीनलाई पनि जग्गा छोडेका हुन् । नक्साले बोल्दैछ ।’

कालापानी भारत र नेपाल दुवै देशको सुरक्षाकोलागि अत्यन्तै महत्वपूर्ण स्थान भएको उनको भनाई छ । उनले भनिन्,’भारतको लागि मात्रै होईन, भारत र नेपाल दुवैको लागि । त्यसले गर्दा १९५० को सन्धिअन्तर्गत नेपाल र भारतले कुरा गर्नुपर्छ । दुवै देशको सुरक्षा कसरी गर्ने हो ? यदि नेपालले यो सुरक्षाको जिम्मा म लिन्छु, भारतले चिन्ता गर्नुपर्दैन भनेर नेपालले भारतलाई विश्वास दिलाओस नि त । तर, यदि जब भारतलाई शंका लाग्छ कि होईन नेपाल अहिले चीनको पक्षमा काम गरिराखेको भन्दाखेरि त गाहो हुन्छ नि । नेपालले अन्तिम युद्ध लडेको १८१४ हो । भारत जो नेपालको मित्र हो, उसले अंग्रेजहरुसँग तीन सय वर्ष लडेको छ । त्यसपश्चात् अहिले चार-पाँच वटा युद्ध खेपिसकेको छ । भारतमा स्वतन्त्र भाको छ अनि नेपालमा प्रजातन्त्र आको छ । भारत स्वन्त्र नहुञ्जेलसम्म नेपालमा क्रुर राणा शासन थियो । भारतको स्वतन्त्रता र लोकतन्त्रको महत्व नेपालको लागि छ र हुनुपर्छ ।’

तर यो पनि नभुल्नुहोस कि भारतलाई स्वतन्त्र बनाउनको लागि नेपालले साथ दिएको होईन ? विपीले साथ दिनुभएको होईन भनेर धमलाले तेर्साएको प्रश्नमा गिरीले भनिन्,’जरुर । अनि त भारतले नेपाललाई सम्मान गर्छ । त्यसैले गर्दा भारतमा नेपालको विशेष स्थान छ । भारतमाथि पाकिस्तानले आक्रमण गरेको वा चीनले आक्रमण गरेको, त्यो भन्दापनि बढि संवेदनशील कुरा भारतको लागि के हुन्छ भने ? नेपालले भारतसँग कुरापनि नगरिकन, वार्तापनि नगरिकन, यदि यस्तो नक्सा चाहीँ बनाउँछ भने ।’

आफ्नो देशको नक्सा बनाउनको लागि हामीले भारतलाई सोध्नुपर्ने ? लिम्पियाधुरा नेपालको भू-भाग हो नि भनेर धमलाले राखेको कुरामा गिरीले यस्तो प्रतिक्रिया दिईन्, ‘त्यो तपाईको भनाई हो ऋषिजी, लिम्पियाधुरा नेपालको भाग हो, यो त म पनि स्वीकार गर्दिन् । तपाईले भनेर हुन्छ ?’

हेर्नुहोस पूरा भिडिओ:



प्रतिक्रिया दिनुहोस्