Logo

समपूरक र विशेष अनुदान आएनः नेपालगञ्ज



काठमाडौँ, २६ जेठ । नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा समपूरक र विशेष अनुदान उपलब्ध गराउन राष्ट्रिय योजना आयोगलाई स्मरण गराएको छ ।

उपमहानगरपालिकाले आयोगलाई आइतबार लेखेको पत्रमा विधि, प्रक्रिया, कानून तथा आवश्यकताका आधारमा माग गरिएका कुनै पनि योजना आव ०७७/७८ को बजेटमा समावेश नगरिएको उल्लेख छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको हस्ताक्षर रहेको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘उपमहानगरपालिका आफैँले गर्न नसक्ने क्षेत्रका योजनाहरुका लागि समपूरक र विशेष अनुदान माग गरी समयभित्रै पठाइएको स्मरण गराउन चाहन्छौँ ।’

उपमहानगरपालिकाका अनुसार समपूरक अनुदानस्वरुप वडा नम्बर २० मा कृषि क्याम्पस निर्माण र कान्तिताल सुधार तथा नगरका १३ वटा वडामा कार्यालय निर्माणका योजनामा रु २५ करोड माग गरेको थियो । सोमध्ये रु १२ करोड ५० लाख संघीय सरकारसँग माग गरिएको उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले जानकारी दिएका छन् । यसैगरी विशेष अनुदानका लागि फोहोरमैला व्यवस्थापन, विशेष शैक्षिक कार्यक्रम र लक्षितवर्ग कार्यक्रमका लागि रु १६ करोड ४७ लाख ४० हजार बजेटबाट ६ कार्यक्रम माग गरिएको जनाइएको छ ।
क्वारेन्टाइनको व्यवस्थापनमा ध्यान दिन सुझाव
कोरोना संक्रमित बढेर थप आइसोलेशनको आवश्यकता भइरहेका बेला बाँकेमा भने सञ्चालित क्वारेन्टिन नै व्यवस्थित हुन सकेका छैनन् । जिल्लाका स्थानीय तहले अधिकांश विद्यालयलाई क्वारेन्टिन बनाए पनि उचित व्यवस्थापन गर्न नसक्दा त्यहँींभित्रैबाट संक्रमण फैलिने र थप जोखिम निम्तिने सम्भावना रहेको पाइएको छ ।

प्रदेश नं ५ प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र हमाल नेतृत्वको टोलीले नेपालगञ्ज, खजुरा र वैजनाथस्थित क्वारेन्टिन र आइसोलेशनमा गरेको स्थलगत अवलोकनमा क्वारेन्टिनको यस्तो अवस्था देखिएको बताएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्