एमसीसीबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्दै, सबैको ठुलै तयारी


काठमाडौं, २६ जेठ । आज नेपाल कम्युनिस्ष्ट पार्टीको सचिवालय बैठक बस्दैछ । अपरान्ह ४ बजे बस्ने बैठकको एजेन्डा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) हुनेछ ।

एमसीसी सम्झौता १५ असारभित्र संसदबाट पारित गरिसक्नुपर्ने छ । नभए सहयोग फिर्ता जान्छ । जेठको २६ भइसक्दा नेकपाभित्र यो पारित गर्ने नगर्ने टुगो लागेको छैन ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठकमा एमसीसीबारे के गर्नेबारे टुंगो लगाउने गरी तयारी गरेको बुझिएको छ । सकभर पार्टी सचिवालय र स्थायी कमिटिबाट निर्णय गराउने नभए संसदीय दलबाट गर्ने ओलीको तयारी छ । सिधै संसदमा निर्णयार्थ प्रस्तुत गर्ने सम्मको रणनीति बनाएर ओली बढेका छन् ।

नेकपाभित्र ओलीइतरले संशोधन विना कुनै हालतमा एमसीसी पारित गर्न नदिने अडान राखेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत विपक्षमा छन् । यसरी सचिवालयको बहुमत ओलीको विपक्षमा छ । जर्बजस्ती एमसीसी बढाउन खोजे दुर्घटना हुनसक्ने चेतावनी समेत ओली इतरका नेताहरुले दिइसकेका छन् ।

एमसीसी पारित होस् या नहोस् नेकपामा सहमति नगरी जाँदा पार्टी विभाजनसम्मको खतराहरु औल्याइएको छ । त्यसैले सहमतिका साथ जानुपर्नेमा अधिकांश नेताहरुको जोडबल छ ।-File Photo