Logo

कोरोना नियन्त्रणमा सरकार संवेदनशील नभएको कांग्रेस केन्द्रीय कार्यसमितिको निश्कर्ष



जेठ २६, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना नियन्त्रण र रोकथाम गर्न सरकार संवेदनशिल नभएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले कोरोनालाई नियन्त्रण गर्न सरकार पूर्णरुपमा असफल भएको भन्दै गैरजिम्मेवार र संवेदनशिल नभएको निष्कर्ष निकालेको हो ।

बैठकले तत्काल स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रपंक्तिमा रहेर काम गर्नेका लागि व्यक्तिगत सुरक्षा र जाँचको व्यवस्था गर्न माग गरेको छ । त्यस्तै क्वारेन्टाइनको गुणस्तर वृद्धि गर्ने तथा अस्पतालमा बेडको संख्या बढाउन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै कांग्रेस सवै परिक्षण पिसिआरबिधीबाट गर्न पनि माग गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सरकार कोरोना नियन्त्रणका नाममा केन्द्रिय सरकार नै कमाउधन्दामा लागेको आरोप लगाएका थिए । कोरोना नियन्त्रणका लागि छुट्याईएको बजेटले महामारीलाई सम्बोधन गर्न नसक्ने धारणा राखेको अर्का नेता मोहन बस्नेतले जानकारी दिए ।

बैठकमा सरकारले कोरोना महामारीलाई गम्भीरताका साथ नलिएको, पर्याप्त बजेट नछुट्याएको, स्वास्थ्य सामाग्री खरीदमा समेत सेनालाई जिम्मा लाउनु गलत भएको धारणा राखेका थिए । त्यसैगरी बिश्वमा काम नलाग्ने आरडीटि सामान खरीद गर्न लागीपरेको लगायतका आरोपहरु र भनाईहरु केन्द्य्रिय सदस्यहरुले बैठकमा राखेको बस्नेतले बताए ।

बैठकले कोरोन जाँच नगरि क्वारेन्टाइनबाट घर पठाउने सम्बन्धीत कार्यादेश तत्काल परिमार्जन गरि कोरोना पूर्णरुपमा निको भएपछि मात्र घर पठााउनुपर्नेमा जोड दिएको छ । त्यस्तै बिदेशमा रहेका नेपालीलाई सुरक्षित रुपमा घर ल्याउने तथा भारतबाट नेपाली ल्याउने क्रममा नेपालीमाथि भएको व्यवहार तत्काल सुधार्न पनि सरकारलाई सुझाब दिएको छ । कार्य समितिको बैठक हलमा प्रवेश गर्नुअघि नेताहरुको ज्वरो नापिएको थियो र स्यानिटाईजरको पनि प्रयोग गर्न लगाईएको थियो । हेरौं बाँकी तस्विरमा: तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्