Logo

भारतको सीमा अतिक्रमण केटाकेटी खेले जस्तो होइन, त्यस्तालाई दण्डित गरिनेछ- भारतीय गृहमन्त्री शाह



एजेन्सी, २६ जेठ । भारतका गृहमन्त्री अमित शाहले भारतको सिमा अतिक्रमण केटाकेटीको खेल नभएको भन्दै त्यस्तालाई दण्डित गरिने चेतावनी दिएका छन् । उनले भारतले सिमा अतिक्रमण र घुसपैठ हुँदा चालेको कदम स्मरण गराउँदै उक्त चेतावनी दिएका हुन् ।

‘हवाई आक्रमण र सर्जिकल स्ट्राइकबाट पाकिस्तान दण्डित भयो,’ आज उडिसामा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा शाहले भने, ‘यसले विश्वले भारतको सिमा अतिक्रमण केटाकेटीको खेल नभएको र त्यस्तो जोकोही दण्डित हुने बुझिसकेको छ ।’

आफूहरुको समयमा पुलवामा र उरीमा आतंकवादी आक्रमण भएको बखत प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै समय खेर नफाली कडा कदम चालेको उल्लेख गरे ।

भारतको चीनसँग सिमा विवाद बढिरहँदा भारतीय गृहमन्त्री शाहको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो । उनको संकेत चीनतर्फ थियो । यद्यपि, भारतको नेपालसँग पनि सिमा विवाद छ । भारतीय पक्षले नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समावेश गरी जारी गरेको नयाँ नक्शाप्रति आपत्ती जनाउँदै आएको छ ।

शाहले सम्राट अशोकको समेत चर्चा गरेका थिए । भारतको प्रतिक चिन्ह अशोकले स्थापना गरेको सिंहको मुर्ति हो । जसको मुनी लेखिएको सत्य मेव जयतेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका थिए ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्