Logo

पिसिआर नगरी १४३ संक्रमित घर फर्काइए



काठमाडौं, जेठ २७ । कोरोनाको केन्द्र बनेको कपिलस्तुमा पिसिआर परीक्षण नगरी कोरोनामुक्त भएको भन्दै आइसोलेसनमा उपचाररत एक सय ४३ जनालाई घर फर्काइएको छ । स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिकाअनुरूप पालिकाहरूले आइसोलेसनमा बसेका संक्रमितलाई निको भएको भन्दै घर फर्काउन थालेका हुन् ।

निर्देशिकाअनुसार जिल्लाका नौजना संक्रमितलाई बुटवलस्थित कोरोना विशेष अस्पातलबाट घर फर्काइएको थियो । जिल्लाकै स्थानीय तहहरूले एक सय ३४ संक्रमितलाई घर फर्काएका हुन् । यो निर्देशिका जारी हुनुपूर्व संक्रमितको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि मात्र घर फर्काउने गरिएको थियो । ती रिपोर्ट नेगेटिभ आएका जिल्लाका ४२ जना कोरोनामुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै दोस्रो रिपोर्ट आएपछि दुई सञ्चारकर्मीलाई घर पठाइएको छ । मन्त्रालयको नयाँ निर्देशिका पाँच दिनअघि आएको थियो । त्यसयता गत जेठ २४ देखि जिल्लामा त्यहीनिर्देशिका अनुसार संक्रमितको कोरोना परीक्षणबिना घर पठाउन थालिएको हो । नयाँ निर्देशिकाअनुसार आइसोलेसनमा बसेको १४ दिन पूरा भएको र कोरोनाको कुनै लक्षण नदेखिए सात दिन घर स्वआइसोलनमा बस्नेगरी संक्रमितलाई घर पठाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले जारी गरेको यो निर्देशिकाको चौतर्फी आलोचना भइरहेको छ । यसलाई स्वास्थ्यकर्मीले समेत घातक कदम भन्दै चिन्ता प्रकट गरेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्