Logo

नेकपा विवाद पेचिलो बन्यो, सचिवालयमा एमसीसीले रस्साकस्सी



काठमाडौं, २६ जेठ । नेपाल कम्युनिस्ट पार्टीभित्र अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे टुंगो लागेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी संसदबाट पारित गराउन चाहिरेका छन् तर उनीइतरको समुह विरुद्धमा छ । यसबारे आज सचिवालय बैठक निर्णायक बन्न सक्छ ।

ओलीले हिजो अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा एमसीसीको विषयमा कसरी टुंगोमा पुग्नेबारे छलफल गरेका थिए । तर, यसबारे कुनै सहमति बन्न सकेन । आज अपरान्ह ४ बजे बस्ने बैठकको एजेन्डा नयाँ नक्शा समावेश भएको निशान छाप र एमसीसी हुनेछ । निशान छापमा कसैको विमति छैन । संसदबाट कहिले दुई तिहाईले पारित गर्ने भन्नेमात्र हो । तर, मुख्य विषय एमसीसी बनेर आएको छ ।

एमसीसी सम्झौता १५ असारभित्र संसदबाट पारित गरिसक्नुपर्ने छ । नभए सहयोग फिर्ता जान्छ । जेठको २७ भइसक्दा नेकपाभित्र यो पारित गर्ने नगर्ने टुगो लागेको छैन । सम्झौताका कतिपय बुँदा विवादास्पत भएकाले पारित गर्न नदिन नेकपाभित्र प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ सक्रियताका साथ लागेका छन् । प्रधानमन्त्री ओली र ईश्वर पोखरेल पारित गर्नुपर्ने पक्षमा छन् । महासचिव विष्णु पौडेल र सरकारमा गृहमन्त्री रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल बीचको लाइनमा छन् ।

सचिवालयमा कुरा नमिले ओली संसदीय दलबाट टुंगो लगाउने पक्षमा छन् । संसदीय दलमा उनको बहुमत रहेको दाबी छ । यसले झनै विवाद ल्याउन सक्छ । सकभर पार्टी सचिवालय र स्थायी कमिटिबाट निर्णय गराउने नभए संसदीय दलबाट गर्ने ओलीको तयारी छ । सिधै संसदमा निर्णयार्थ प्रस्तुत गर्ने सम्मको रणनीति बनाएर ओली बढेका छन् । यसले नेकपाभित्रको विवाद पेचिलो बन्दै गएको छ ।

एमसीसी पारित होस् या नहोस् नेकपामा सहमति नगरी जाँदा पार्टी विभाजनसम्मको खतराहरु औल्याइएको छ । त्यसैले सहमतिका साथ जानुपर्नेमा अधिकांश नेताहरुको जोडबल छ । बीचको बाटोमा जानुपर्ने भन्दै केही नेताहरु कुरा मिलाउन लागेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्