बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रको काम पुनः शुरु


काठमाडौँ, २९ जेठ । बन्दाबन्दीका कारण प्रभावित बनेको बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे कालोपत्र गर्ने कार्य पुनः शुरु भएको छ ।

बाह्रै महिना विमानस्थल सञ्चालनार्थ धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत गत फागुनमा काम शुरु गरेको भए पनि बन्दाबन्दीका कारण चैत दोस्रो साताबाट निर्माण कार्य रोकिएको थियो । धावनमार्ग कालोपत्र गर्न प्राधिकरणले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु चार करोड रकमले कालोपत्रको काम प्रारम्भ गरिएको थियो ।

आगामी आर्थिक वर्षमा धावनमार्ग अगाडि बढाउन पुनः रु तीन करोड रकम छुट्याइने बागलुङबाट निर्वाचित सङ्घीय सांसद डा. सूर्य पाठकले जानकारी दिएका छन् । विमानस्थलको कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भएर निर्माणको काम अगाडि बढेको भए पनि बन्दाबन्दीले केही ढिला भएको निर्माण कम्पनीले जनाएको छ ।

आगामी २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र सक्ने गरी प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग रु सात करोडमा ठेक्का सम्झौता गरेको छ । ठेक्का सम्झौता भएलगतै धावनमार्ग कालोपत्र गर्नका लागि अवश्यक पूर्वाधार निर्माण शुरु गरे पनि बन्दाबन्दीका कारण काम प्रभावित भएको थियो । सरकारले विकास निर्माण अगाडि बढाउने भनेपछि पुनः कालोपत्रका लागि पूर्वाधार निर्माण थालिएको काष्ठमण्डप उमा एण्ड कम्पनी जेभीका आधिकारिक प्रतिनिधि दिनेश रिजालले जानकारी दिएका छन् ।

“हामीले ठेक्का सम्झौता हुँदासाथ बलेवा विमानस्थलमा आवश्यक कामको थालनी गरेका थियौँ”, रिजालले भने, “धावनमार्गको कटिङसमेत सक्ने अवस्थामा पुग्दा बन्दाबन्दी शुरु भयो, अहिले पुनः काम थालेका छौँ ।” शुरुमा विमानस्थलको धावनमार्ग र विमान पार्किङस्थल कालोपत्र हुने भागलाई कटिङ गरेको र काम नरोकिए असार मसान्तसम्म धावनमार्ग ग्राभेल गर्ने निर्माण कम्पनीका फिल्ड इन्चार्ज वासु थापाले जानकारी दिएका छन् । कालोपत्रका लागि आवश्यक पूर्वाधार निर्माण भएमा असारपछि कालोपत्र थालिने थापाको भनाइ छ । (रासस)