Logo

मन्त्री गुरुङको अपिलः ‘सडकमुक्त बालबालिका’ अभियानमा सक्दो सहयोेग गर्नुहोस्



काठमाडौं, २७ जेठ । काठमाडौंको विभिन्न स्थानबाट दुई दर्जनबढि बालबालिकाको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रिय बाल अधिकार परिषदको नेतृत्वमा ज्येष्ठ २६ गते अपरान्ह काठमाडौंको ठमेल, पुरानो बसपार्क र चावहिल चुच्चेपाटीमा बेवारिसे अवस्था भेटिएका २५ जना बालबालिकालाई उद्धार गरी पुर्नस्थापना केन्द्रमा व्यवस्थापन गरिएको हो ।

लकडाउनका बेला सामाजिक संजालहरुमा काठमाडौंको विभिन्न स्थानमा सडक बालबालिका वेवारिसे अवस्थामा भेटिएको उल्लेख भएलगत्तै उनीहरुको तत्काल उद्धार गरी व्यवस्थापन गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले परिषदलाई निर्देशन दिएका थिए ।

मन्त्री गुरुङको निर्देशन आएलगत्तै बालबालिका खोजतलास समन्वय केन्द्रसँगको समन्वयमा ठमेल क्षेत्रबाट १७ जना, पूरानो बसपार्कबाट ३ जना, चावहिल चुच्चेपाटीबाट ५ जनाको उद्धार परी पुर्नस्थापना केन्द्रहरुमा संरक्षणको उचित व्यवस्था मिलाइएको परिषदका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी एि ।

उद्धार गरिएका सबै बालिबालिकाहरुको कोरोना परीक्षणको पनि व्यवस्था मिलाइएको केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए । केन्द्रका डिएसपी रमेशबहादुर सिंहका अनुसार लकडाउनका बेला बालबालिका सडकमा आउन नदिन उच्च सतर्कता अपनाइएको छ ।

मन्त्री गुरुङको प्रत्यक्ष निर्देशनमा लकडाउनको यस अवधिमा काठमाडौंं उपत्यका भित्र ३५ जना र उपत्यका बाहिर ३२ जना गरी ६७ जना सडक बालबालिकाको उद्धारी गरी संरक्षणको व्यवस्था मिलाइएको परिषदले जनाएको छ । सरकारले २०७३ साल बैशाखबाट ‘सडकमुक्त बालबालिका’ अभियान अन्तरगत सडक बालबालिकाको उद्धार र व्यवस्थापनको काम सुरु गरेको हो । हालसम्म १२६८ बालक र १९० जना बालिका गरी १४७६ जनाको उद्धार गरी संरक्षणको उचित व्यवस्था मिलाइएको पनि परिषदका प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए ।

यसैबीच, मन्त्री गुरुङले सडकमा बालबालिका बेवारिसे अवस्थामा भेटिए तत्काल नेपाल प्रहरी वा बालबालिका खोज तलास समन्वय केन्द्रको निःशुल्क हटलाईन सेवा १०४ मा सम्पर्क गरी उनीहरुको उद्धार र संरक्षणका लागि आवश्यक सहयोग गन सबैलाई पुनः अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्