Logo

संघसंस्थाले दिएका सामाग्रीले क्वारेन्टाइन चलेका छन्, केन्द्रले निर्देशन मात्रै दिन्छः मेयर भण्डारी



काठमाडौं, जेठ २८ । दैलेखको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले कोरोना विरुद्धको लडाईमा स्थानीय सरकार एक्लै लड्नु परेको बताएका छन्।

केन्द्र तथा प्रदेश सरकारले कुनै सहयोग नगरेकोले स्थानीय सरकार एक्लै लड्नु पर्दा गाह्रो भएको उनले स्पष्ट पारे ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उनले भने, “संघीय सरकारले निर्देशिन दिने बाहेक केही गरेको छैन, प्रदेश सरकार पनि सोधीखोजीमै सिमित छ ।”

दुल्लु नगरपालिकामा मात्रै दैनिक तीन चार गाडी नगरवासी बाहिरबाट आउने गरेको र उनीहरुलाई क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्न भ्याइ नभ्याई भइरहेको मेयर भण्डारीले बताए ।

अहिले नगरपालिकामा झण्डै २५ सय मानिस क्वारेन्टाइमा रहेको र झण्डै दश हजार मानिस आउने अनुमान गरिएको उनले जानकारी दिए ।

विभिन्न ठाउँबाट आउने नगरवासीलाई ल्याउनका लागि गाडी भाडा मात्रै अहिलेसम्म २९ लाख ४० हजार नगरपालिकाको खर्च भएको उनको भनाई छ ।

अहिलेसम्म त जसोतसो चलाइएको र धेरै मानिस आएपछि खर्च व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता रहेको उनले बताए।
क्वारेन्टाइमा बसेकाहरुलाई आउने वित्तिकै पानीको बोत्तलसँगै चाउचाउ वा विस्कुट दिने र त्यसपछि दाल, भात, तरकारी दिने गरिएको उनको भनाई छ।

उनका अनुसार क्वारेन्टाइमा बसेकाहरुलाई विभिन्न सामाजिक संघसंस्थाहरुले खाना, सावुन, माक्स, सेनिटाइजर, पिठोलगायतका अत्यावश्यक सामग्रीहरु दिएर सहयोग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्