Logo

सिमा विवादमा वार्ता अझै अनिश्चित, भारतको अडान पुरानै



काठमाडौं, २९ जेठ । नेपालले भारतसँग सिमा विवाद समाधानका लागि वार्ताको बारम्बार पहल गरेपनि भारतको पुरानै अडान दोहोरिएको छ । उसले वार्ताका लागि वातावरण बनाउनुपर्नेमा जोड दिएको छ । तर, त्यस्तो वातावरण के हो स्पष्ट छैन ।

आज भारतको विदेश मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले वार्ताका लागि सकारात्मक र रचनात्मक वातावरण बनाउनुपर्ने दोहोराएका छन् । यसअघि पनि उनले सकारात्मक र रचनात्मक पहलको आवश्यकतामा जोड दिएका थिए ।

नेपाल र भारतबीच बढेको तनावबारे पत्रकारले सोधेको प्रश्नमा श्रीवास्तवले भने, ‘सिमा विवादबारे भारतले यसअघि नै धारणा प्रष्ट पारिसकेको छ ।’ उनले यसअघि जस्तै नेपालले कुटनीतिक संवादका लागि अनुकूल वातावरण निर्माणमा भुमिका खेल्न भनेका थिए ।

भारतले नेपालले नयाँ नक्शा जारी गरेपछि आधिकारिक धारणा सार्वजनिक गर्दै त्यो मान्य नहुने बताएको थियो । उसले वार्ताका लागि सकारात्मक र रचनात्मक पहलको आग्रह गरेको थियो ।

सिमा विवादपछि नेपालले भारतसँग गत वर्षको कात्तिकयता वार्ताका लागि कुटनीतिक पहल गर्दै आएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खुलाएका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्