Logo

सिमामा अर्को तनाव, सशस्त्रको गोलीबाट एक भारतीय नागरिकको मृत्यु



काठमाडौं, ३० जेठ । नेपाल-भारतबीच सिमा विवाद चलिरहँदा सर्लाही र सितामढी सिमा क्षेत्रमा अर्को समस्या आइलागेको छ । सिमामा सशस्त्र प्रहरीको गोलीबाट एकजना भारतीयको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

गोली हान्नुको कारण हो लकडाउनका बखत भारतीय नागरिक नेपालभित्र पस्न खोज्नु । उनीहरुलाई रोक्न खोज्दा अटेर गरी ढुंगामुढा गर्न थालेको र हतियार समेत खोस्न खोजेपछि गोली चलाउन वाध्य भएको सशस्त्र प्रहरीले जनाएको छ । तर, यसलाई भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ उल्लेख गरेका छन् । कालापानी क्षेत्रको सिमा विवाद चलिरहँदा घटना भएकाले चासो झन् बढ्न पुग्यो ।

यसैगरी, भारतीय नागरिकको मृत्युको खबर भारतीय सञ्चारमाध्यमले प्राथमिकतामा साथ प्रकाशन तथा प्रशारण गरेका छन् । आज विहान ९ बजेतिर भएको घटनामा दुई जना घाइते भएका छन् ।

सर्लाही र विहारको सितामढीको सिमा क्षेत्रमा भएको घटनामा नेपालभित्र घुसपैठ गर्न खोज्दा सशस्त्र प्रहरीले रोक्न खोजेको र उल्टै आक्रमण गरी हतियार समेत खोस्न खोजेपछि वाध्य भई गोली चलाइएको सशस्त्र प्रहरीका एआइजी नारायणबाबु थापाले बताएको पीटीआईलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । जर्बजस्ती सिमाभित्र छिर्न खोज्दा रोकिएको र दर्जनौं मानिस जम्मा भई ढुंगा हानेको थापाले बताएका छन् ।

घटनापछि नेपाल र भारतका दुवै सुरक्षाकर्मीले यसबारे छलफल गरेको इन्डियन एक्सप्रेसले लेखेको छ । कालापानी क्षेत्रबारे नेपाल र भारतबीच सिमामा विवाद भइरहँदा यो घटना घटेको उसले लेखेको छ ।

यसैगरी, टाइम्स अफ इन्डियाले खेती गर्न गएका स्थानीय युवाको नेपालको सशस्त्र प्रहरीको गोली प्रहारबाट मृत्यु भएको भनी समाचार प्रकाशन गरेको छ । जंकिनगर गाउँमा भएको घटनामा २५ वर्षीय दिनेश कुमारको मृत्यु भएको हो । घटनामा उमेश राम र उदयकुमार घाइते भएका छन् । लगन राय नामका एकजना युवक पक्राउ परेको स्थानीयले दाबी गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्