Logo

लालु शैलीमा ओलीको बोली



दीपेश केसीः विहारमा एक समय लालु यादवको एकछत्र राज थियो । लालु जे बोल्थे विहारका सर्वसाधारण त्यही पत्थाउँथे । उनका पार्टीका अन्धभक्तहरु लालुको हल्का लाग्ने भाषण सुनेर ताली ठटाउँथे । कोही वाध्यताले प्रशंशा गर्थे । जब विहारमा डुबान हुन्थ्यो तब लालु भन्थे, ‘नेपालको पानीले हाम्रो विहार डुबाइदियो ।’ अनि डुबान पीडित सर्वसाधारण नेपालप्रति आक्रोश पोख्थे । उनीहरु पानीको कुनै राष्ट्रियता हुन्न र विना भीसा प्रकृतिको नियमानुसार बग्छ भन्नेतर्फ ध्यान दिदैनथिए ।

जब चुनाव आउँथ्यो तब लालु भन्थे, ‘विहारको सडकलाई हिमामालिनीको गाला जस्तै चिल्लो बनाइदिन्छु ।’ त्यतिबेला बलिउडकी सुन्दर नायिका हिमामालिनी लालुको यही वाक्यले झन् लोकप्रीय बन्न पुगिन् । चुनाव लालुले जिते तर विहारको सडक झन् बिग्रियो । लालुले गरेको भ्रमको खेती लामो समय चलेन । तत्कालिन भारतीय जनता पार्टीका नेता शत्रुघन सिन्हाले ‘लालुले हिमामालिनीको गाला जस्तो सडक बनाउँछु भनेर ओम पुरीको गाला जस्तो बनाएको’ प्रतिक्रिया दिए । कहिले नेपालको पानीले विहार डुबायो भन्ने त कहिले हिमालिनीको गाला जस्तो सडक चिल्लो बनाउँछु भन्ने लालु सस्ता बाचा पूरा गर्न नसक्दा अलोकप्रीय मात्र भएनन् बदनाम नेता बन्न पुगे । विहारमा ‘लालुयुग’ समाप्त भयो ।

नेपालमा केपी शर्मा ओली प्रधानमन्त्री छन् । उनको भाषण लालुको जस्तो ठट्टाले भरिपूर्ण हुन्छ । कोरोना भाइरसको पनि ओलीले राष्ट्रियता छुट्याइदिएका छन् । ‘भारतको कोरोना’ कडा भने । भारतको कोरोना भाइरस भन्दा कतिपय मख्ख परे । तर, लालुले ‘नेपालको पानी’ भन्नु र ओलीले ‘भारतको कोरोना’ भन्नु उस्तै हो । लालुले पानीको राष्ट्रियता देखाइदिए भने ओलीले कोरोनाको । कोरोना भाइरसको जोखिमसँग जुध्न नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनी ओलीले संसदमा विना वैज्ञानिक तथ्यका आधारमा रिसर्चर जसरी बोले । जब गगन थापाले प्रश्न उठाए तब उनले आफूले भनेको ठिक भनी दाबी गरे । विना कुनै वैज्ञानिक अध्ययन अनुसन्धानबाट पुष्टि भएको विषयमा ओलीले बोल्दा उनका एस म्यान सांसदहरु दंग पर्दै बेन्च ठटाउन पुगे । यस्तो हल्का र भ्रम फैलाउने बोलीमा समेत बेन्च ठटाएर प्रशंशा गर्ने सांसद चयन गरेछौं भनी नेपाली जनता पछुताउन थालेका छन् ।

भोलिको पुस्ताले आफ्नो देशको संसद यस्तो थियो र सांसदहरु यस्ता थिए भनी इतिहास पल्टाउँदा के भन्लान् ? राजनीतिक गर्नेको वर्तमान मात्र सबथोक होइन । विगतभन्दा वर्तमान र वर्तमान भन्दा भविष्य झन् महत्वपूर्ण हुन्छ । पृथ्वीनारायण शाहका दिव्योपदेश त्यसै आजपर्यन्त उपयोगी भएको होइन । जङ्गबहादुरले बेलायत यात्राका क्रममा वजन देखाएका थिए । राणा शासकहरुमध्ये कतिपयका भनाई आज पर्यन्त सान्दर्भिक छन् । वीपी कोइराला त्यसै महामानव भएका होइनन् । उनको बोली नैतिकवान बन्न प्रेरित गर्ने खालको छ । वीपी बरु सत्तामा चढेनन् तर वजन घटाएर बोलेनन् । मदन भण्डारीको हरेक वाक्य वजनदार थिए । गणेशमान सिंहका लागि प्रधानमन्त्री पदभन्दा यथार्थ बोल्ने र गर्ने महत्वपूर्ण थियो । कृष्णप्रसाद भट्टराई ठट्यौली शैलीमा बोल्थे तर बोलीको गरिमा राख्थे । गिरिजाप्रसाद कोइरालाको चेतावनी पनि शालिन तरिकाले हुन्थ्यो । उनी हल्का बोली बोलेर सस्तो लोकप्रीयतामा रमाएनन् । मनमोहन अधिकारी पनि त्यस्तै बजन राखेर बोल्थे ।

तर, गणतन्त्र नेपालका सबैभन्दा शक्तिशाली प्रधानमन्त्री हल्का टिप्पणीमा रमाउन थालेका छन् । कुनैबेला ओलीको बोलीमा दम छ भनिन्थ्यो । आजकल ओलीका बोली हल्का हुनथालेका छन् । नेपाली जनताले जे पनि पत्याउँछन् र जे बोल्दा दंग पर्छन् त्यही बोल्नुपर्छ भनी अर्थहीन टिप्पणी गर्न थालेका छन् । २८ जेठमा ओलीले संसदमा जे जस्ता टिप्पणीहरु गरे त्यो कुनैपनि देशको प्रधानमन्त्रीका लागि सुहाउने खालको थिएन । त्यो पनि २१ औं शताब्दीको गणतन्त्र नेपालमा । मानार्थ पीएचडीमा रमाउन चाहने ओलीको शैली त्यस्तै थियो । रिसर्च नगरेका तर रिसर्च गर्न रहर गर्ने शोधकर्ताको जस्तो ओलीको बोली प्रष्ट बाहिर आयो । यसले ओलीले जुन उचाई प्राप्त गरेका थिए त्यो स्वाट्टै झारिदियो ।

कहिले ‘भारतको कोरोना’ भन्ने त कहिले कोरोनासँग लड्ने नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भन्ने तथ्यहीन गफ हाँक्ने । के का आधारमा बोलेको भन्दा मैंले भनेपछि हुन्छ भन्ने । ओली सत्तामा रहेकाले तत्काल उनका मान्छेहरुलाई यो मन पर्न सक्छ । तर, इतिहासको कुनै कालखण्डमा ओलीको यो बोली सुन्दा उनीप्रतिको दृष्टिकोण कति नकारात्मक होला ? यसको हेक्का नराखी ओलीले जे जसरी बोले त्यसले उनलाई सनकी प्रधानमन्त्रीको श्रेणीमा पुर्याएको छ । उनको बोली लालु यादवको शैलीमा रुपान्तरित भएको छ । भ्रम र हल्का मनोरञ्जन । जब सबै जनताले बुझ्नेछन् तब त्यस्ता पात्र इतिहासकै बदनाम हुनेछन् ।-File Photos



प्रतिक्रिया दिनुहोस्