Logo

‘अद्यावधिक नक्सा स्थायी’



काठमाडौँ, ३१ जेठ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारद्वारा हालै जारी गरिएको अद्यावधिक नक्सा स्थायी भएको बताएका छन् ।

भारतीय मिडिया आजतकलाई शुक्रबार दिएको अन्तर्वार्तामा उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको यो नक्सा परिवर्तन नहुने प्रस्ट पारेका छन् । उनले नेपालको नक्सा अद्यावधिकले भारतसँग हुने वार्तामा कुनै पनि असर नपार्ने प्रतिक्रिया दिएका छन् । जति सक्दो चाँडो कुनै पनि पूर्वाग्रहबिना समस्याको समाधान गर्न सकियो त्यति नै छिटो सम्बन्ध अझ सुमधुर भएर अगाडि बढ्ने उनले बताएका छन् ।

नक्सा तत्काल अद्यावधिक गर्ने विषय भारतकै कारण आएको दाबी उनले गरेका छन् । “जब भारतले २ नोभेम्बर २०१९ मा जम्मु काश्मीरलाई पुनव्र्यवस्थित गरेर नक्सा परिवर्तन ग¥यो । हामीले सीमा विवादका बारेमा नयाँदिल्लीसँग धेरै पटक कुरा गर्ने प्रयास गरेका थियौँ तर त्यहाँबाट कुनै प्रतिक्रिया आएको छैन । त्यसपछि नेपालका सबै राजनीतिक दलले संयुक्त रूपमा नक्सा परिवर्तन गर्न जोड दियो । अब यो पुनः परिवर्तन गर्न सकिँदैन”, मन्त्री ज्ञवालीले स्पष्ट पारेका छन् ।

नेपालको अद्यावधिक नक्सामा नेपालका आफ्ना क्षेत्रहरू सही रूपमा वर्णन गरिएको जानकारी उनले दिएका छन् । भारतसँगको विवादका विषयमा भने भारतसँग औपचारिक वार्ता आवश्यक रहेको जिकिर उनले गरेका छन् । स्वतन्त्र सार्वभौम मुलुकले गरेको राष्ट्रहितको निर्णयको भारतीय पक्षले सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले नेपालले स्वतन्त्र निर्णय लिएको र राष्ट्रिय हितको पक्षमा निर्णय गर्नु कसैको विरोध गर्नु नभएको समेत प्रस्ट्याएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्