Logo

यार्सागुम्बा टिप्न पाउनुपर्ने माग



काठमाडौँ, ३१ जेठ । कोरोना सङ्क्रमणको जोखिम हुनसक्ने भन्दै यो वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि हिमाली क्षेत्रका बासिन्दाले यार्सागुम्बा सङ्कलन गर्न पाएका छैनन् ।

दार्चुलाको अपिहिमाल गाउँपालिकाका स्थानीय प्रेमसिंह कार्कीले भने, “वर्षभरिको मुख्य आयस्रोत नै यहाँका बासिन्दाको यार्सा हो । त्यही टिप्न नपाएपछि यो वर्ष घरखर्च कसरी धान्ने भन्ने चिन्ता लागेको छ । छोराछोरी के गरी पढाउने अनि घरखर्च कसरी चलाउने ? उनले प्रश्न गर्दै भने । सिँचाइ सुविधा नहँुदा कृषि उत्पादन थोरै हुने हिमाली क्षेत्रका अधिकांश परिवार जडीबुटीमा आश्रित छन् । जेठ महिनामा सङ्कलन गरेको यार्सागुम्बा बेचेर वर्षभरिको खाद्यान्न जोहो गर्ने र ऋण तिर्ने स्थानीय यो वर्ष समस्यामा परेको स्थानीय योगेन्द्र धामीले बताएका छन् ।

दार्चुलाको अपिहिमाल, व्यास, मार्मा, नौगाड गाउँपालिकाका झन्डै १० हजार स्थानीय यार्सागुम्बा सङ्कलनमा जाने गरेका थिए । विगत वर्षहरूमा यो समय लालाबालासहित हिमाली क्षेत्रमा जाने स्थानीयवासी यो वर्ष घरमै बसेका छन् । शिक्षक, विद्यार्थीसमेत यार्सागुम्बा सङ्कलनका लागि हिमालतर्फ जाँदा गत वर्षसम्म जेठ महिनामा विद्यालय बन्द हुने गरेका थिए । दार्चुलामा प्रत्येक वर्ष पाँचदेखि आठ क्विन्टलसम्म यार्सागुम्बा सङ्कलन हुने गरेको छ ।

हिमाली क्षेत्रका प्रत्येक परिवारले यार्सागुम्बा सङ्कलन गरेर एक सिजनमा पाँचदेखि २५ लाख रुपियाँसम्म आम्दानी गर्ने गरेका थिए । सरकारलाई दुई करोड रुपियाँ बढी राजस्व प्राप्त हुँदै आएको थियो ।यार्सागुम्बा पाइने पाटनहरू खुलाउँदा हजारौँको सङ्ख्यामा सङ्कलक यार्सागुम्बा सङ्कलनमा जाने भएकाले कसैलाई पनि सङ्कलन अनुमतिपत्र वितरण नगर्ने र अवैध रूपमा यार्सागुम्बा सङ्कलनमा गएको पाइए कारबाही गर्ने निर्णय गरिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्