Logo

सरकारविरोधी प्रदर्शन : माइतीघरमा देखिएका रोचक दृश्य



जेठ ३१, काठमाण्डौ । शनिवारको प्रदर्शनलाई वृहत भनिएको थियो । तर हुन सकेन । तर माइतिघरमा विरोध प्रदर्शन भइरहँदा देखिएका केही फरक दृश्य भने रोचक देखिन्थ्यो । आजको प्रदर्शनमा प्रदर्शनकारी र सुरक्षा निकाय दुवै पक्ष संयमित देखिएका थिए ।

सरकारविरोधी प्रदर्शन सकिएपछि प्रदर्शनकारीको तर्फबाट राष्ट्रिय गित बजाइएको थियो । र बज्नासाथ प्रदर्शनकारीलाई निगरानी गर्न तैनाथ नेपाल प्रहरीका जवानदेखि अधिकृतसम्मले उभिएर राष्ट्रिय गितप्रति सम्मान प्रकट गरे ।

नेपाली युवाहरुको आयोजनामा गरिएको भनिएको प्रदर्शनमा केही विदेशी नागरिक पनि सहभागि भएको पाइयो । प्रर्दशनमा सहभागी जनाउन लागेका ५–६ जना विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रदर्शनमा उत्रेका केही युवाहरुले हातमा प्लेकार्डसँगै फूल पनि बोकेका थिए । र ’प्रहरी मेरो साथी’ भन्दै उनीहरुले प्रहरीलाई आफ्नो कर्तव्य पूरा गर्दै शान्तिसुरक्षामा खटेकोमा धन्यवाद दिँदै फूल दिए ।

केहीदिन अघि वालुवाटार र नक्सालमा गरिएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गर्नुका साथै अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । त्यसक्रममा प्रदर्शनकारीहरुले ’प्रहरी हाम्रो साथी’ लगायतका नारा लगाएका थिए । शनिवार पनि परिस्थिति नियन्त्रणमा जान सक्ने भन्दै धेरै संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले आफ्नो मागलाई रोचक तरिकाले प्रस्तुत गर्नुको साथै विभिन्न रुपमा देखा परेका थिए । सबैजसो विरोध कार्यक्रममा नेपालमा विभिन्न दल तथा राष्ट्रिय झण्डा बोकेर उपस्थ्ति हुने गर्दथे । तर शनिवार कसैले पनि झण्डा बोकेको देखिएन ।



प्रतिक्रिया दिनुहोस्