Logo

‘अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन भयो’



काठमाडौँ, ३२ जेठ । नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रतिनिधि सभाबाट शनिबार सर्वसम्मत पारित भएपछि नेपालीहरूमा आफ्नो देशको एकता, राष्ट्रियता र भौगोलिक अखण्डताप्रति अभूतपूर्ण माया रहेको सन्देश गएको विज्ञहरूको निष्कर्ष छ ।

प्रतिनिधि सभाबाट संशोधन विधेयक पारित भएपछि गोरखापत्रसँग सङ्क्षिप्त कुरा गर्दै कानुनका विज्ञहरूले त्यस्तो निष्कर्ष सुनाएका छन् । “जस्तोसुकै कठिन परिस्थितिमा पनि राजनीतिक दलका नेताहरू, नेपालीहरू एक हुने क्षमता राख्छन् भन्ने सन्देश बाहिर गयो, यो अत्यन्त सकारात्मक सन्देश हो”, उनीहरूको भनाइ छ ।

संविधानविद् डा. विपिन अधिकारीले राष्ट्रियतासँग सम्बन्धित विषय र भौगोलिक अखण्डताका लागि हाम्रा दलहरू जुनसुकै परिस्थितिमा एक हुने क्षमता राख्छन् भन्ने सन्देश गएको बताएका छन् । “असहमतिका बीच पनि दलका नेताहरू एक ठाउँमा उभिनुभयो, एकताको सन्देश दिन सफल हुनुभयो”, डा. अधिकारीले भने, “आजको यो निर्णयले विश्वव्यापी रूपमा सकारात्मक सन्देश गयो । ”

कानुनका प्राध्यापक डा. युवराज सङ्ग्रौलाले नक्सा पारित भएर नयाँ निशान छाप कायम हुनुले मात्र पूरै उपलब्धि हात लागेको ठान्न नहुने बताएका छन् । “निशान छापमा सबै दलको समर्थन हुनु राष्ट्रिय प्रेम मान्न सकिन्छ तर नेपाली भूभाग फिर्ता ल्याउने गरी वार्ता र संवाद हुन अझै बाँकी छ”, उनले भने । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्