Logo

लकडाउनमा स्वदेशी तथा विदेशी लगानी रकममा गिरावट



जेठ ३२, काठमाण्डौ । कोरोनाको जोखिम तथा लकडाउन र अन्य कारणले अहिले वैदेशिक लगानी र स्वदेशी लगानी समेत खुम्चिन पुगेको छ । त्यति मात्र होइन, अन्य अवस्थामा पनि नेपालभन्दा पछि आर्थिक उदारिकरणमा गएका मुलुकले धेरै लगानी आकर्षण गरिसकेको भएपनि नेपालमा त्यस्तो हुन सकेको छैन ।

उद्योग विभागले नेपालमा लकडाउन सुरु भएको दिन अर्थात गत चैत्र ११ गते यता १ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको जनाएको थियो । लकडाउनको ३ महिनाको अवधिमा सबैभन्दा बढी लगानी प्रतिबद्धता भने पर्यटन क्षेत्रमा आएको छ । विभागका अनुसार गत फागुन १ गतेदेखि चैत ४ गतेसम्म नेपालको पर्यटन क्षेत्रमा ४५ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको जनाएको छ ।

आर्थिक बर्ष २०७७÷७८ को बजेटमै अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी बोर्डमार्फत १४ खर्ब ३५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको जनाएका छन् । यसैगरी, १ खर्ब ५५ अर्ब रुपैयाँको प्रत्यक्ष विदेशी लगानी स्वीकृत भएको अथमन्त्री डा. खतिवडाले बताएका छन् ।

अर्थमन्त्री डा. खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को आर्थिक सर्वेक्षणमा समेत गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक लगानी प्रतिबद्धतामा १ सय ६५ प्रतिशतले वृद्धि हुँदै २९ अर्ब ६७ करोड रुपैयाँ पुगेको बताएका थिए । पछिल्लो समय अर्थात लकडाउन अवधिभर विभिन्न १५ ओटा परियोजनामा १ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको थियो । गत आर्थिक वर्षको आँकडा अनुसार उक्त अवधिमा ९५ करोड बराबरको मात्रै वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

लकडाउन अवधिभर स्वदेशी लगानीमा पनि २९ अर्ब ८२ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको बजेटमा उल्लेख छ । विभागको तथ्यांक अनुसार गत फागुन १ गतेदेखि चैत ७ गतेसम्म विभिन्न ३७ वटा उद्योगमार्फत उक्त स्वदेशी लगानी प्रतिबद्धता आएको जनाएको छ । गत बर्षको सोही अवधिको आँकडा हेर्दा १ खर्ब ७ अर्ब बराबरको स्वदेशी लगानी प्रतिवद्धता आएको थियो । कोरोनाको जोखिमभन्दा अघि पनि प्रत्यक्ष विदेशी लगानी खासै नेपालमा आउन सकेको थिएन ।

नेपालभन्दा पछि आर्थिक उदारिकरणमा गएका मुलुकले धेरै लगानी आकर्षण गरिसकेको भएपनि नेपालमा त्यस्तो हुन सकेको छैन । पछिल्लो पटक संविधान जारी भएर देश राजनीतिक स्थायित्वमा गएपछि दुई वर्ष अगाडि लगानी सम्मेलनको आयोजना गरिएको थियो । त्यसैले सम्मेलनको हिसावले यो तेस्रो सम्मेलन समेत गरिसकेपनि अहिले सम्म खासै लगानी भने आएको पाइएको छैन ।



प्रतिक्रिया दिनुहोस्