Logo

नेपालको नयाँ नक्सा : अबको हाम्रो जिम्मेवारी



महेश कुमार श्रेष्ठ

नेपालको संविधान दोस्रो संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भएसंगै आम नेपाली नागरिकमा केहि खुशीको लहर छाएको छ जसले हामी विभिन्न जात-जाती, क्षेत्र, प्रदेश, धर्म र समुदायहरुक‍ो वीचको भावानात्मक एकतालाई केही हदसम्म मजवूत बनाएको होकी भन्ने अनुभूत भईरहेको छ।

“हिमाल, पहाड मधेस र तराई, यहाँ कोही छैनन् पराई” मुलुकको राष्ट्रियता, सार्वभौमिकता , अखण्डता र स्वाधीनताका पक्षमा एकजूट र एक ढिक्का भई साथ दिन हिमाल, पहाड, मधेस, तराई लगायत बिश्वभर रहनु भएका संपूर्ण नेपाली जनताहरु भावनात्मक र नैतिकरुपमा प्राय छुट्नु भएनन् होला। तर आज सिङ्गो देशले हर्ष र खुशी मनाईरहदा राष्ट्रियताको बिपक्षमा फरक मत र बिचार राख्नु हुने केही आदर्णिय राजनीतिक ब्यक्तित्वहरु निश्चितरुपमा छुट्नु भएको छ जसले “एकल‍ो बृहस्पति झूठो” र ” एउटा हत्केलाले सूर्यलाई छेक्न सकिन्न” भन्ने नेपाली उखान टुक्कालाई चरितार्थ गरेर देखाई दिएको छ। हामीलाई आशा र विश्वास यो छ कि उहाहरुले आफूले चालेका कदमहरु गलत हुन र जुन राष्ट्रियहित र ३ करोड नेपालीहरुको भावना बिपरित छन् भन्ने कुराको आत्मग्लानि गरि आफूलाई राष्ट्रिय एकताको मूलधारमा उभ्याउनु हुनेछ । अन्यथा उहाहरुको भविष्यको राजनीतिक यात्रा अत्यन्तै कठोर र चुनौतिपूर्ण हुँदै राजनीतिमा फूलिस्टप नलाग्ला भन्न सकिन्न।

नेपालका संपूर्ण राजनीतिक दल तथा सारा नेपाली नागरिकहरुको एकजूट र साथमा नेपाल सरकारले नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउने सम्बन्धमा देखाएको यो सकृयता र पहलकदमी ऐतिहासिक र प्रशंसनिय छ।
यद्धपि यो केवल शुरुआति कदम मात्र हो जसले हाम्रा अतिक्रमित भूमिको हक दावीको लागि औपचारीक आधार खडा गरेकाे छ । आगामि दिनहरुमा विभिन्न राजनीतिक, कूटनीतिक माध्यमबाट बार्ता गर्दै यो मुद्धालाई टुङगो लगाएर भारतीय सेना फिर्ता गरि हामीले उक्त अतिक्रमित भूमि भोगचलन गर्नु पर्ने आवश्यक्ता रहेको छ। अहिले जसरि सजिलै संग ती भूमिहरु नेपालको नकशामा त ल्यायौ त्यसरिनै उक्तभूमि भोगचलनमा ल्याउने कुरा त्यति सजिलो नहोला तर असंभव भने छैन ।

अबका यी कदमहरुमा पनि बर्तमान सरकारलाई राजनीतिक दल र विभिन्न तह र तप्काका नागरिक हरुवाट अझ वढि साथ सहयोग र एकताको आवश्यक्ता पर्दछ जुन कुराहरु आगामी दिनहरुमा बर्तमान सरकारले गर्ने कामकारवाहि, व्यवहार, र कार्यसंपादनले निर्धारण गर्दछ।

हालको बर्तमान परिप्रेक्ष्यमा सरकारका सामू देखापरेका निम्न ८ बुंधे चुनौति र मुद्धाहरुप्रति सरकार गम्भीर , ईमान्दार र उत्तरदायि हुँदै समयमै संवोधन गर्न सकेको खण्डमा सरकारले विभिन्न राजनीतिक दलहरु र संपूर्ण जनताहरुवाट निरन्तर साथ , सहयोग र सद्भाव पाईरहने कुरामा कसैक‍ो दुईमत नरहला।
निम्न:

१. विभिन्न राजनीतिक दलहरुकोवीचमा एकले अर्को लाई आक्षेप लगाउने र बिरोधगर्ने प्रवृत्तिले प्रसय पाएको हुदा त्यसमा सचेत हुनु,
२. मधेस र तराईका राजनीतिक शक्तिहरुसंगको दुरीलाई कम गर्नु,
३. बिगतमा गरिएका सन्धि सम्झौताहरुमा भए गरेका कमिकमजोरीहरुलाई प्रष्ट पार्नु तथा आत्मग्लानी गर्नु ,
. कोभिड-१९ को महाब्याधि संग मुकाबिला गर्नको लागि प्रयाप्त मात्रामा पिसिआर परिक्षण र करेन्टाईनको प्रभावकारि ब्यवस्थापन मिलाउनु,
५. लकडाउनको समयमा ब्यवसायिहरुलाई कर तिर्न बाध्य नपार्नु,
. औषधि ठेक्का पट्टा र खरिद बिक्रिमा भएकाे लापरवाहिले दल र जनताहरुमा चरम अनियमितता र भ्रष्टाचार भएको भन्ने शंका उत्पन्न हुनु,
७. सरकारी श्रोत साधनहरुको खरिदमा मितब्ययिता कायम गर्न नसक्नु र जनप्रतिनीधिहरुको मात्र तलव वृद्धि हुनु,
८. एमसिसि प्रकरणको बारेमा जनताको आशंकालाई श्पस्ट पार्न नसक्नु,

यसप्रकार अब सरकार सवै दलहरुसंगको आपसि सहयोग, सद्भाव र समन्वयमा सवै दलको अस्तित्व र महत्वलाई स्विकार्दै माथि उल्लेखित ८ बुंधे चुनौति र मुद्धाहरुको प्रभावकारि ढंगबाट समाधान गरि राष्ट्रिय एकतालाई थप सुदृढ बनाउदै अगाडि बढ्नुको बिकल्प नरहेको कुरा महशुस गरिएको छ। हामी नेपाली हौं, नेपाली भएर बाँचौ। जय मातृभूमि।

( लेखक श्रेष्ठ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक(अ.प्रा.) हुन । )



प्रतिक्रिया दिनुहोस्