Logo

‘देशभरिका स्वास्थ्यकर्मीलाई जोखिम भक्ता प्रदान गर्नुपर्छ’



मधु धमला क्षेत्री : धादिङ, १ असार । धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले स्वाथ्यकर्मीहरुलाई जोखिम भक्ता खुवाएको छ । सायद देशभरिमा नै यो पहिलो गाउँपालिका होला, जसले स्वास्थ्यकर्मीलाई जोखिम भक्ता खुवाएको छ । समग्र स्वास्थ्यकर्मीहरुको तर्फबाट म यस गाउँपालिका र यसको नेतृत्वमा रहनेहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । खासगरी गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्य, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण पौडेल, लेखा अधिकृत विपिन बस्नेत, स्वास्थ्य संयोजक कृष्णबहादुर पौडेलप्रति धेरै आभार व्यक्त गर्न चाहन्छौं । उहाँहरुले कोभिड-१९ को महामारीमा २४सै घण्टा खटिने स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने काम गर्नुभयो । स्वास्थ्यकर्मीहरुको भूमिकाबारे उहाँहरुले उचित मूल्यांकन गरी जोखिम भक्ता खुवाउनुभयो ।

धादिङको यस गाउँपालिकाले सराहनी काम गरेझैं अब देशभरिका स्थानीय सरकारले कोभिड १९ को यस महामारीमा आफ्नो ज्यानको बाजी राखेर सेवामा खटिने स्वास्थ्यकर्मीहरुलाई जोखिम भक्ता खुवाउनुपर्छ । म यही लेखमार्फत केन्द्र सरकारसमक्ष यसतर्फ कदम चाल्न आग्रह गर्दछु । अहिले स्वास्थ्यकर्मीहरुलाई जोखिम भक्ता प्रदान गर्न आलटाल गरेको पाईन्छ । म सबै सम्बन्धित निकायलाई हृदय ठूलो बनाई भक्ताको व्यवस्था गर्नको लागि अनुरोध गर्दछु । कोभिड-१९ विरुद्ध अग्रभागमा रहेर सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन सरकारले उचित कदम चाल्नुपर्छ । कोभिड-१९ को उपचारमा खटिएका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुले आफ्नो घर, परिवार नभनी अहोरात्र सेवामा खटिरहेको कुरालाई सरकारले नजरअन्दाज गर्नुहुँदैन् ।

कोभिड-१९ महामारीका कारण पूरै विश्व अहिले आक्रान्त छ । नेपालमा पनि यसको ठूलो प्रभाव परेको छ । संक्रमितहरु अहिलेसम्म झण्डै ६ हजार पुगेका छन् भने १९ जनाको निधन भैसकेको छ । निको भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या आजको दिनमा ९ सय ७४ पुगेको छ । संक्रमितहरु दिनप्रतिदिन सयौंको संख्यामा बढिरहेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर बनेको छ । कोभिड १९ को विरुद्धमा सबैभन्दा अग्रभागमा भने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरु नै खटिएका छन् । यस्तो अवस्थामा अग्रभागमा खटिँदै आएका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई सरकारले कुनैपनि सेवा तथा सुविधाबाट बञ्चित गर्नु हुँदैन् । बरु, उनीहरुको मनोबल बढाउनको लागि राज्यले उचित कदम चाल्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्