Logo

नेपालमा कोरोना संक्रमितको संख्या: फागुनसम्म १, चैत्रसम्म १२, वैशाखमा २४३, जेठमा ५७६०



काठमाडौ, १ असार । नेपालमा जेठभर ५ हजार ५ सय १७ जना कोरोना भाइरसको संक्रमित बढेका छन् । वैशाखको अन्तिम दिनसम्म २ सय ४३ संक्रमित संख्या पुगेकोमा जेठभर साँढे पाँच हजार संख्या वृद्धि भएको हो ।

फागुनसम्म जम्मा १ जना मात्र कोरोना संक्रमित भेटिएका थिए । चैत्रसम्म जम्मा १२ जना संक्रमित पत्ता लागेका थिए, वैशाखमा २४३ पुगेकोमा जेठमा एकैपटक ५ हजार ५ सय १७ जना वृद्धि भई कुल संख्या ५ हजार ७ सय ६० पुगेको छ ।

फागुनबाट चैत्रसम्म १२ गुणाले वृद्धि भएकोमा चैत्रबाट वैशाखसम्म २० गुणाले वृद्धि भएको देखिन्छ । वैशाखबाट जेठसम्म २३ गुणाले वृद्धि भएको छ । यसरी कोरोना संक्रमितको संख्या वृद्धिदर बढिरहेको देखिन्छ ।

विगतमा दैनिक एक अंकमा बढ्ने गरेकोमा दुई हुँदै तीन अंकमा वृद्धि भइरहेको छ । एकै दिन ४ सयभन्दा बढीको संख्यामा वृद्धि हुन थालेको छ । यसबाट नेपालमा कोरोना भाइरसको भयावह अझै उच्च तहमा पुग्न बाँकी रहेको देखिएको छ ।

हिजो एकै दिन ४ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएपछि नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ५ हजार ७ सय ६० पुगेको छ । अहिलेसम्म कोरोनाबाट मुत्यु हुनेको संख्या १९ जना पुगेको छ । जसमध्ये १६ पुरुष र ३ महिला छन् । संक्रमितमध्ये आधाभन्दा बढी संक्रमणमुक्त भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्