Logo

ओली-मोदी वार्ताको पहल, कहिले होला आइसब्रेक ?



काठमाडौं, १ असार । नेपाल-भारत सिमा विवादले दुई देशको सम्बन्धमा फेरि समस्या ल्याएको छ । भारतले लिपुलेक हुँदै लिंकरोड निर्माण गरेपछि नेपालले आपत्ती जनाउँदै कालापानी लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्शा जारी गरिसकेको छ । यसप्रति भारतले आपत्ती जनाएको छ ।

संसदबाट नयाँ नक्शासहितको निशान छाप संशोधन गर्न पेश भएको संविधान संशोधन विधयेक पारित भइसकेको छ । यो घटनापछि भारतीय पक्षबाट विभिन्न धारणाहरु सार्वजनिक भइरहेका छन् ।

प्रतिनिधिसभाबाट नक्शा पारित भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारतसँग वार्ता हुने बताए । उनका परराष्ट्र मामला सल्लाहकार डा. राजन भट्टराईले पनि वार्ताको पहलबारे बोले । उता भारतले लिपुलेक सडक खोलेलगत्तै भारतले कुटनीतिक माध्यमले विदेश सचिवस्तरीय वार्ताको प्रस्ताव राखेको तर नेपालले अनिच्छा देखाएको विषय हिन्दुस्तान टाइम्समार्फत् खुलाएको छ । यसको अर्थ नेपालले राजनीतिक तवरबाटै कालापानी विवादको समाधान गर्न चाहेको बुझिन्छ ।

कोभिड १९ को बेलामा वार्ता नभएको भनिइरहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सिमा विवादमा चीनसँग वार्ता गर्न हुने नेपालसँग नहुने ? भनी प्रश्न गरेका थिए । उनले कात्तिकयता वार्ताको प्रस्ताव गरेपनि भारतले बेवास्ता गरेको बताए । यसरी दुई देशबीच बेला बेलामा बेवास्ता र अविश्वासको अवस्था बुझ्न सकिन्छ ।

नेपालले नयाँ नक्शा जारी गरिसकेको अवस्थामा वार्ताको सम्भावना रहला कि नरहला ? यो प्रश्न उठेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले वार्ता र छलफलबाट दुई देशको समस्या समाधान गरिने बताए । आज उत्तराखण्डको भाजपा युनिटलाई सम्बोधन गर्ने क्रममा उनले नेपालसँगको विशेष सम्बन्धको महत्व उल्लेख गरे । तर, भारतको विदेश मन्त्रालयको धारणा केही फरक छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतको अडान यथावत रहेको भन्दै वार्ताका लागि नेपालबाट उपयुक्त परिस्थिति निर्माण गर्नुपर्ने बताइरहेका छन् । यसको अर्थ भारत यथावस्थामा वार्ताका लागि तयार देखिदैछ ।

भारत टसमस नहुने र नेपाल पनि अगाडि बढेको अवस्थामा नक्शा मात्र बनाएर बस्ने र भारत पनि चुप लाग्ने अवस्था पनि रहनसक्छ । यसअघि निकै कडा रुपमा प्रस्तुत भएका भारतीय सेनापति एम एम नरवाणे पनि देहरादुन पुगेर नरम बोले । उनले नेपालसँगको परम्परागत, ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्ध सुमधुर भएको उल्लेख गरे । यसबाट वार्ताको ढोका खुल्ने सम्भावना देखिएपनि तत्काल त्यस्तो अवस्था बनिहाल्ने सम्भावना कमै देखिन्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्