Logo

विद्यार्थीबाट शुल्क उठाऊ, तलब खुवाऊः इस्टु



काठमाडौं, असार २ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले विद्यार्थीसँग शुल्क उठाएर तलब खुवाउन आग्रह गरेको छ ।अध्यक्ष होमकुमार थापाले सरकारले तोकेअनुसार एक महिनाको शुल्क मिनाहा गरेर अन्य महिनाको शुल्क उठाएर भए पनि तलब खुवाउन आग्रह गरेका छन् ।

‘हामी विद्यालय सञ्चालकले आग्रह गरेअनुसार पढाउनेछौं, विद्यालयले हामीलाई चाडवाड खर्चसहित १३ महिनाको शुल्क दिनुपर्छ ।’उनले विद्यालयले शुल्क नलिएको अवस्थामा शिक्षकलाई तलब दिन समस्या पर्ने दाबी गरे। उनले भने– ‘तीन महिनासम्म तलब दिन नसक्दा विद्यालयलाई समेत आर्थिक समस्या पर्न गएको हो ।’

इस्टुले हिजो शिक्षा तथा मावन स्रोत विकास केन्द्रलाई समेत ध्यानाकर्षण गराएको छ । इस्टुले कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तालगायतको विषयमा ध्यानाकर्षण गराएको थियो । ‘हामी पनि समस्यामा परेका छौं, अधिकांश शिक्षकलाई घर चलाउनै समस्या परेको छ, त्यसैले तत्काल तलब दिनुको विकल्प छैन ।’ –अध्यक्ष थापाको भनाई छ ।

सरकारले भनेअनुसार २ सय दिन पढाउने आफ्नो दायित्वबाट नपन्छिने स्पष्ट पार्दै थापाले भने– ‘निजी विद्यालयले सरकारी निर्देशन पालना गर्नुपर्छ, हामी विद्यालय सञ्चालकले भनेअनुसार पढाउनेछांै ।’

उपत्यकाका केही ठूला विद्यालयले लकडाउन भएको एक महिनापछि नै बिल पठाएर अभिभावकलाई हैरान पारेपछि सरकारले तत्काल शुल्क नलिन निर्देशन दिएको थियो । प्याब्सनले समेत यस्तो परिस्थितिमा शुल्क नलिन विद्यालयलाई आग्रह गरेको थियो ।

निजी विद्यालय चरम संकटमा परेपछि सरकारसँग शुल्क लिन माग गरिसकेको छ । प्याब्सन अध्यक्ष टीकाराम पुरीले केही समयपछि शुल्क उठाउने प्रयास गर्नुपर्ने बताए । उनले सरकारले एक महिनाको शुल्क मिनाहा गरेको विषयमा थप छलफल गर्नुपर्ने जानकारी दिए।

घरभाडा, बैंक र वित्तीय संस्थाको ऋणको ब्याज, शिक्षक कर्मचारीको तलब दिनकै लागि शुल्क उठाउनुको विकल्प नभएको उनको भनाइ थियो । उनले यो विषयमा सरकार र सरोकारवाला निकायसँग थप छलफल गर्ने बताए ।

इस्टुले निजी विद्यालयलाई सरकारले सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न समेत आग्रह गरेको छ । अध्यक्ष थापाले अन्य उद्योग सरह विद्यालयलाई ऋणको व्यवस्था गर्न आग्रह गरे।

प्याब्सनले सहुलियतपूर्ण ऋणको विषयमा सरकारसँग छलफल गरिरहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ।



प्रतिक्रिया दिनुहोस्