Logo

महाकाली सन्धीले कसरी फुटायो एमाले



काठमाडौं, २ असार । भारतसँग २०५२ सालमा भएको महाकाली सन्धी तत्कालिन नेकपा एमाले विभाजनको कारण थियो । सन्धीका पक्षधरमध्येका केपी शर्मा ओली हालका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री छन् । माधवकुमार नेपाल नेकपाका वरिष्ठ नेता छन् । ओलीले त सन्धी पारित गर्न मुख्य भुमिका खेलेका थिए । त्यसका लागि उनले पार्टी विभाजन भए होस् भनेर कठोर कदमहरु चालेका थिए ।

सन्धी गर्न तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका थिए । उनले भारतीय समकक्षी पी भी नरसिंह रावसँग २९ माघ २०५२ मा हस्ताक्षर टुंग्याएका थिए । देउवा अहिले नेपाली काँग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता छन् । सन्धीको तत्कालिन नेकपा एमालेले पनि स्वागत गरेको थियो । ४ असोज २०५३ मा संसदको दुई तिहाईले सन्धी पारित गरेको थियो ।

सन्धीको अग्रिम हस्ताक्षरको माहोल तयार गर्ने डा। प्रकाशचन्द्र लोहनी त्यतिबेला परराष्ट्रमन्त्री थिए । सन्धीका लागि तत्कालिन भारतका विदेशमन्त्री प्रणव मुखर्जी दिन दिवसीय नेपाल भ्रमणका लागि आएका थिए । तीन दिन सन्धीका लागि गृहकार्य भएको थियो । १५ माघ २०५२ मा तीन दिनको छलफलपछि लोहनी र मुखर्जीको उपस्थितिमा सन्धीको प्रारम्भिक हस्ताक्षर भएको थियो । सन्धी त भयो तर त्यसको कार्यान्वयन भएन । यसकारण पनि यसबारे प्रश्न उठेको छ ।

महाकालीले कसरी फुटायो एमाले
भारतसँग महाकाली सन्धी भइसकेको थियो । संविधान अनुसार त्यसलाई संसदको दुई तिहाईले पारित गर्नुपर्ने थियो । नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीमा खासै विमति देखिएन । तर, तत्कालन नेकपा एमालेभित्र ठुलै रडाको मच्चियो ।

संसदबाट पारित गर्ने विषयमा तत्कालिन नेकपा एमालेभित्र चर्को विवाद भयो । एमालेभित्र सन्धीको पक्ष विपक्ष भएपछि तत्कालिन एमाले नेता केपी शर्मा ओलीको संयोजकत्वमा सात सदस्यीय महाकाली सन्धी अध्ययन कमिटि गठन गरिएको थियो । ओली समितिले प्रतिवेदन बुझाएपछि शारदा बाँध, टनकपुर बाँध र पञ्चेश्वर परियोजना समेतको महाकाली नदीको हकहित र विकास सम्बन्धी सन्धीलाई हेर्ने दृष्टिकोणको सवालमा तत्कालिन एमालेभित्र दुईवटा फरक दृष्टिकोणहरु देखापरेका थिए ।

कमिटिमा झलनाथ खनाल, भरतमोहन अधिकारी, प्रेमसिंह धामी, हिरण्यलाल श्रेष्ठ, ऋषिराज लुम्साली र खगराज अधिकारी सदस्य थिए । प्रेमसिंह धामी दार्चुलाकै नेता थिए । उनको पछि जीप दुर्घटनामा रहस्यमय मृत्यु भयो । लुम्साली पनि कञ्चनपुरका भएकाले महाकालीबारे राम्रो जानकार थिए । उक्त कमिटिले सन्धि पास गर्न १३ बुँदे सुझाव दिएको थियो । प्रतिवेदन तयार पार्न गठन भएको समितिका सात सदस्यमध्ये चार सदस्यले सन्धी पास गर्न नहुने भनी धारणासमेत प्रस्तुत गरेका थिए ।

एउटा पक्षले महाकाली राष्ट्रहित भन्यो, जसमा कार्यदलकै संयोजक केपी शर्मा ओली थिए । अको पक्षले महाकालीलाई राष्ट्रघाती भन्यो जसको नेतृत्व बामदेव गौतमले लिएका थिए । कुनै हालतमा सन्धि पारित गर्नुपर्ने जोडबल हालका प्रधानमन्त्री केपी शर्मा ओलीको थियो । उनी नै सन्धी अध्ययन कमिटिका संयोजक थिए । कमिटिका हिरण्यलाल श्रेष्ठलयायत चराजना सन्धी पास गर्न नहुने पक्षमा खरो रुपमा प्रस्तुत भएका थिए । ‘सन्धिमा सहमति गर्दाताका हस्ताक्षर गर्न महासचिव र आफू भाङ् खाएर गएका थियौ ?’ भनेर सन्धिमा थप सुधारको अडानमा रहेका नेताहरूलाई ओलीले चुनौति दिएका थिए ।

छ दिनसम्म एमाले बैठक बस्यो । निष्कर्ष निकाल्न निकै हम्मे पर्यो । केन्द्रीय कमिटिमा निर्र्र्णय नै गर्नुपरेको थियो । पहिलोपटक खुला मतदान हुँदा सन्धिको पक्ष र विपक्षमा १७/१७ मत पर्यो । त्यही दिन दोस्रो पटक गोप्य मतदान हुँदा पक्ष र विपक्षमा १७/१६ भई बहुमतले अथवा एक मतको अन्तरले सन्धी अनुमोदन गर्ने निर्णय भयो । यही घटना एमाले विभाजनको कारण बन्यो ।

कहाँ चुके नेताहरु
सन्धीबारे २०५३ सालमा ऋषिराज लुम्सालीले पुस्तक प्रकाशित गरेका थिए । उनले कालापानी क्षेत्रमा भारतीय सैनिक रहेको तथ्य समेत उल्लेख गरेका थिए । महाकाली नदीबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिको लागि संघर्ष गरौं नामको पुस्तक त्यतिबेलाको परिस्थितिबारे ऐतिहासिक दस्तावेज पनि हो ।

त्यतिबेला नेकपा एमालेभित्र सन्धीमा केही बुँदा र विषय पुनरावलोकन गरी परिवर्तनसहित पारित गर्नुपर्ने पक्ष पनि देखिएका थिए । तर, तत्कालिन नेकपा एमालेका महासचिव माधवकुमार नेपाल हालका प्रधानमन्त्री केपी शर्मा ओली बरु पार्टी फुटोस् सन्धी पारित गराएरै छाड्ने अडानमा देखिएका थिए । संसदको दुवै सदनमा सन्धीबारे मतदान हुने भयो । तत्कालिन नेकपा एमालेले पक्षमा मतदान गर्न व्हीप नै जारी गरेको थियो । तर, तत्कालिन एमाले अध्यक्ष मनमोहन अधिकारीसहित बामदेव गौतम, सहाना प्रधान, राधाकृष्ण मैनालीसहित ३१ जना सांसद मतदानमा अनुपस्थित भएका थिए ।

सन्धीको पक्षमा दुवै सदनको गरी २२० जना सांसद थिए । ३१ जना अनुपस्थित भए । अनुपस्थित हुनेमा नेकपा एमालेका नेताहरु मात्र नभई राप्रपा सांसद राजेश्वर देवकोटा पनि थिए । विपक्षमा मतदान गर्नेहरुमा नेमकिपा अध्यक्ष समेत रहेका तत्कालिन सांसद नारायणमान बिजुक्छे रोहित र नेमकिपाकै अर्का सांसद आशाकाजी बासुकला, तत्कालिन नेकपा एमालेका सांसदहरु भक्तबहादुर रोकाय, हिरण्यलाल श्रेष्ठ, पद्यमरत्न तुलाधर, मोहनचन्द्र अधिकारीका अलावा नेकपा मसालका सांसदहरु नवराज सुवेदी र परी थापा थिए ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम