Logo

ओली देउवा २५ वर्षअघि र पछि एकै ठाउँ



काठमाडौं, २ असार । यो ठिक २५ वर्ष अघिको घटना हो । जतिबेला हालका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । काँग्रेसको सभापति गिरिजाप्रसाद कोइराला भएपनि देउवालाई घटनाक्रमले प्रधानमन्त्री पदमा पुर्याएको थियो ।

सुदुरपश्चिम डडुल्धुरा गृहजिल्ला भएका देउवा प्रधानमन्त्री भएपछि २०५२ सालमा महाकाली सन्धीको माहोल तयार भयो । सुदुरपश्चिममै पर्ने महाकालीबारे भारतसँगको सन्धी हुँदा देउवा प्रधानमन्त्री बन्नु संयोग मात्र थिएन । देउवाले २९ माघ २०५२ सालमा भारत पुगेर सन्धीमा हस्ताक्षर गरेका थिए । त्यतिबेला भारतका प्रधानमन्त्री थिए पी भी नरसिंह राव ।

देउवाले सन्धीमा हस्ताक्षर गरेपछि देशभित्र सन्धीलाई राष्ट्रघाती भन्दै चर्का आवाज उठ्न थाले । यो संयोग हो या होइन तर देउवाले महाकाली सन्धीमा हस्ताक्षर गरेको केही दिनमै माओवादीले जनयुद्ध घोषणा गर्यो । उसले सन्धीलाई राष्ट्रघाती समेत भनेर जनयुद्धको घोषणा गरेको थियो ।

सन्धीलाई संसदको दुई तिहाईले पारित गर्नुपर्ने व्यवस्था थियो । नेपाली काँग्रेसमा खासै विवाद देखिएन । तर, तत्कालिन नेकपा एमालेभित्र रडाको नै मच्चियो । केपी शर्मा ओली सन्धीको पक्षमा खुलेर उभिए । उनले देशलाई वार्षिक १ खर्ब २० अर्ब फाइदा हुन्छ भनी दाबी गरे । उनको विपक्षमा बामदेव गौतमको समुह उभियो ।

तत्कालिन एमालेका अध्यक्ष मनमोहन अधिकारी सन्धीप्रति सन्तुष्ट थिएनन् । महासचिव माधवकुमार नेपाल मध्यमार्गी देखिएका थिए । तर, उनीपनि सन्धीको पक्षमै उभिए । मुख्यगरी ओली सन्धी कुनै हालतमा पारित गराउन दिलोज्यानले लागिपरे ।

देउवा सन्धीको हस्ताक्षरकर्ता थिए भने संसदबाट पारित गराउने मुख्य भुमिका ओलीले निभाएका थिए । यी दुई नेता एकै ठाउँमा थिए ।
इतिहासको चक्रले अहिले ओली र देउवालाई फेरि एक ठाउँमा ल्याएको छ । यतिबेला ओली प्रधानमन्त्री छन् देउवा प्रमुख प्रतिपक्षी दलका नेता । दुवैको धेरै विषयमा मन मिलेको छ । नयाँ नक्शा जारी गर्दा दुवै एकै ठाउँमा आइपुगे । यतिसम्मकी अमेरिकी सहयोग सम्बन्धी एमसीसी पारित गर्ने पक्षमा ओली र देउवा एकै ठाउँमा छन् ।

ठिक महाकाली सन्धी संसदबाट पारित गर्ने बेला जस्तै नेकपाभित्र भने एमसीसीबारे विवाद चर्केको छ । ओली एमसीसी जुनसुकै हालतमा पारित गराउने पक्षमा छन् । ओली इतरका समुह पारित हुन नदिन लागिपरेका छन् । यस परिस्थितिबीच ओली र देउवा एकै ठाउँमा देखिएका छन् । २५ वर्षपछि विशेष परिस्थितिमा यी दुई नेताको हातेमालोलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्