Logo

२५ वर्षअघि महाकाली सन्धीको विपक्षमा उभिएका सांसदको हालखबर



काठमाडौं, २ असार । ४ असोज २०५३ मा नेपालको संसदको दुवै सदनले दुई तिहाईले भारतसँगको महाकाली सन्धी पारित गरेको थियो । सन्धीको मतदानमा अनुपस्थित हुने देखि विपक्षमा मतदान गर्ने समेत थिए । तर, उनीहरु राजनीतिबाट निकै धकेलिए । केहीले मात्र राजनीतिमा जेनतेन आफूलाई दरिलो रुपमा उभ्याइरहेका छन् ।

रोचक पक्ष यो छ कि सन्धीको पक्षमा मतदान गर्नेमध्ये प्रधानमन्त्री भएकाहरु पनि छन् तर विपक्षमा मतदान गर्ने या मतदानमा अनुपस्थित हुनेहरु कोही पनि देशको प्रधामन्त्री हुन सकेनन् । मनमोहन अधिकारी मतदानमा अनुपस्थित भएका थिए जो सन्धीपूर्व नै २०५१ सालमा प्रधानमन्त्री भएका थिए ।

त्यतिबेला नेकपा एमालेभित्र सन्धीमा केही बुँदा र विषय पुनरावलोकन गरी परिवर्तनसहित पारित गर्नुपर्ने पक्ष पनि देखिएका थिए । तर, तत्कालिन नेकपा एमालेका महासचिव माधवकुमार नेपाल हालका प्रधानमन्त्री केपी शर्मा ओली बरु पार्टी फुटोस् सन्धी पारित गराएरै छाड्ने अडानमा देखिएका थिए । संसदको दुवै सदनमा सन्धीबारे मतदान हुने भयो । तत्कालिन नेकपा एमालेले पक्षमा मतदान गर्न व्हीप नै जारी गरेको थियो । तर, तत्कालिन एमाले अध्यक्ष मनमोहन अधिकारीसहित बामदेव गौतम, सहाना प्रधान, राधाकृष्ण मैनालीसहित ३१ जना सांसद मतदानमा अनुपस्थित भएका थिए ।

सन्धीको पक्षमा दुवै सदनको गरी २२० जना सांसद थिए । ३१ जना अनुपस्थित भए । अनुपस्थित हुनेमा नेकपा एमालेका नेताहरु मात्र नभई राप्रपा सांसद राजेश्वर देवकोटा पनि थिए । विपक्षमा मतदान गर्नेहरुमा नेमकिपा अध्यक्ष समेत रहेका तत्कालिन सांसद नारायणमान बिजुक्छे रोहित र नेमकिपाकै अर्का सांसद आशाकाजी बासुकला, तत्कालिन नेकपा एमालेका सांसदहरु भक्तबहादुर रोकाय, हिरण्यलाल श्रेष्ठ, पद्यमरत्न तुलाधर, मोहनचन्द्र अधिकारीका अलावा नेकपा मसालका सांसदहरु नवराज सुवेदी र परी थापा थिए ।

नेमकिपा अध्यक्ष बिजुक्च्छे अहिले पनि राजनीतिमा सक्रिय छन् । रोकाय राजनीतिमा पछि परे । अधिकारी र श्रेष्ठले राजनीति नै त्यागे । तुलाधरको निधन भइसकेको छ । सुवेदी र थापा राजनीतिमा निकै तल धकेलिएका छन् ।



प्रतिक्रिया दिनुहोस्