Logo

गाउँघरमा घुम्दै कोरोना सङ्क्रमित



काठमाडौँ, ३ असार । जिल्लाको शिखर नगरपालिका–३ आलीअतुराली गाउँमा कोरोना सङ्क्रमणको पुष्टि भएकाहरु खेलेआमरूपमा गाउँमा घुम्न थालेका छन् ।

गाउँमा उनीहरुलाई घुम्नबाट रोक्ने कोही सरकारी कर्मचारी तथा सुरक्षाकर्मी नभएका कारण उनीहरु घरको कामदेखि धान रोपाइँको काममा व्यस्त हुने गरेको पाइएको छ । भारतबाट रोजगारी गरी दुई हप्ता पहिले घर आएका उक्त वडाका १४ जनामा कोरोना सङ्क्रमण देखापरेको छ ।

गत जेठ २० गते आलीअतुराली क्वारेन्टिनमा राखिएका २८ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालमा पठाएको थियो । मङ्गलबार जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरको संयोजगत्वमा उक्त वडामा पत्रकारसहित गएको अनुगमनका क्रममा कोरोना सङ्क्रमित खुलेआम गाउँघरमा घुमिरहेको पाइएको थियो । कोरोना परीक्षणका लागि स्वाब पठाइएकामध्ये १४ जनामा असार १ गते कोरोना सङ्क्रमणको पुष्टि भएको रिपोर्ट आएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिषबहादुर शाहले बताएका छन् ।

उनले भने, “आलीअतुराली क्वारेन्टिनमा बसेका २८ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी प्रयोगशालमा पठायौँ, जसमा १४ जनाको नतिजा पोजेटिभ आएको छ, सबै आफ्नो घर गएपछि नतिजा आयो, अहिले समस्या भयो ।” पिसीआरको नतिजा नआउँदै आफूहरुलाई होम क्वारेन्टिनमा रहने गरी घर पठाएका एक कोरोना सङ्क्रमितले बताएका छन् । उनले भने, “कोरोना परीक्षणको रिपोर्ट आएको थिएन, हामीलाई होम क्वारेन्टिनमा बस्नु भनेर घर पठायो, अहिले कोरोना पोजेटिभ आयो, हामी पनि चिन्तित छौँ ।”

घरमा आएको चार दिनपछि कोरोना सङ्क्रमण भएको रिपोर्ट आएपछि अहिले गाउँमा कोरोना फैलिने भन्दै स्थानीयवासीमा त्रास फैलिएको स्थानीय बलबहादुर बोगटीले बताएका छन् । उनले भने, “कोरोना रिपोर्ट नआउँदै क्वारेन्टिन बसेकालाई घर पठाइदियो, अहिले १४ जना सङ्क्रमण भएको रिपोर्ट आयो, कसरी गाउँमा जोगिने भन्ने चिन्ता बढेको छ ।”

कोरोना सङ्क्रमण भएकाहरु खुलेआम गाउँघरमा घुमिरहेका कारण अन्यमा पनि कोरोना सर्ने भन्दै स्थानीयवासीमा त्रास उत्पन्न भएको उनको भनाइ छ । गएको जेठ १९ गते पहिलोपटक सो वडाका २५ वर्षीय एक युवामा कोरोना पुष्टि भएको थियो । उनी डोटीको पहिलो कोरोना सङ्क्रमित थिए । त्यसअघि ११ गते गौरिफन्टा नाकाबाट श्रीमती र छोरासहित नेपाल भित्रिएका उनी १२ गतेदेखि शिखर नगरपालिकाले बनाएको क्वारेन्टिनमा थिए । १

६ गते साँझ उनको छोरामा स्वास्थ्य समस्या देखिएपछि छोरा र श्रीमतीसहित तीन जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षण गर्दा उनमा कोभिड–१९ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्