Logo

मेलम्चीको पानी परीक्षणको काम असारमै हुने: मन्त्री मगर



काठमाडौँ, ३ असार : खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उहाँले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने बताउनुभयो । उहाँले पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको जानकारी गराउनुभयो । पानीको वितरण काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले नै गर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “पानी घरघरमा पुग्ने कुरामा शङ्का गर्नुपर्ने अवस्था छैन ।”

सो आयोजना समयमा सम्पन्न नहुँदा काठमाडौँवासी मात्रै नभएर सबै नेपाली निरास बनाएको उहाँको भनाइ थियो । आयोजना सञ्चालनका क्रममा थुप्रै प्रतिबद्धता जाहेर भए पनि विगतमा अन्योल र निरासा देखिएको उहाँको भनाइ थियो । आयोजना निर्माण भइरहँदा कहिले भूकम्प त कहिले ठेक्का तोड्नुपर्ने अवस्था र निर्माण मजदूरको आन्दोलन लगायतका समस्या आएको मन्त्री मगरले बताउनुभयो । अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबीच पनि पहिलो चरणको आधारभूत काम सम्पन्न हुने क्रममा रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सबै चुनौती भए पनि आगामी आवको शुरुमा पानी वितरण गरिनेछ, त्यो दिन सबै नेपालीको गौरवको दिन हुनेछ ।”

मन्त्रालयलाई भर्खर मात्रै क्वारेन्टिनमा खानेपानी र शौचालय, सरसफाइ निर्माणको जिम्मेवारी आएकाले त्यो कार्यान्वयनमा लागेको मन्त्री मगरले बताउनुभयो । अहिले आवश्यकतानुसार छिटोभन्दा छिटो कार्यान्वयन गर्न मन्त्रालय अघि बढ्ने उहाँको भनाइ छ ।

खानेपानी तथा सरसफाइ विधेयक सदनमा छलफलका क्रममा रहेको र यसै अधिवेशनबाट पारित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले तय गरेको १५औँ योजनामा सबैमा खानेपानी पुग्ने लक्ष्य लिइएकामा आगामी आवको अन्त्यसम्म ९४ प्रतिशत आधारभूत खानेपानी पु¥याउने र ३२ प्रतिशतमा मध्यम तथा उच्चस्तरको स्तरको खानेपानी पु¥याउने गरी बजेट विनियोजन गरी सोही अनुसार कार्यक्रम कार्यान्वयन हुने बताउनुभयो ।

मन्त्री मगरले सबै घरधुरीमा शौचालय पुगेर नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भइसकेकाले अहिले यसको निरन्तरता स्थानीय तहले दिइरहेको बताउनुभयो । तीनै तहको सरकारको समन्वयमा पूर्ण सरसफाइ उन्मुख कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ । प्रदेश र स्थानीय तहसँग योजना तथा कार्यक्रमसँग दाहोरोपना नहुने गरी मन्त्रिपरिषद्ले भौगोलिक विकटतालाई हेरेर तराईमा १५ हजार, पहाडमा पाँच र हिमाली क्षेत्रमा एक हजार जनसङ्ख्यासम्म लक्षित कार्यक्रम मन्त्रालयबाट सञ्चालन हुने निर्णय गरेको उहाँले बताउनुभयो । त्यसभन्दा कम जनसङ्ख्या लक्षित कार्यक्रम प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुनेछ ।

विगतका अधुरा आयोजनामध्ये क्रमागत आयोजनालाई निरन्तरता दिइएको उहाँको भनाइ थियो । खानेपानी चरम अभाव रहेका स्थानलाई प्राथमिकता दिएर क्षेत्रीय सन्तुलन मिलाइएको छ । मन्त्रालयले अभाव रहेका सुक्खा क्षेत्रमा ‘लक्षित जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना’ सञ्चालन गरेको छ ।

मन्त्रालयले आगामी आवमा नयाँ कार्यक्रमअन्तर्गत जिल्ला सदरमुकाम, स्थानीय तहको प्रशासनिक केन्द्र, पहाडी तथा दुर्गम क्षेत्रका बजारमा लक्षित आयोजनाका लागि बजेट विनियोजन गरेको छ । ती आयोजना आगामी तीन वर्षमा सम्पन्न हुनेछन् । मध्यम तथा ठूला शहरमा चौबिस घण्टा पानी मिलाउने १४ मध्यम तथा ठूला शहरमा आयोजना सम्भाव्यता अध्ययन भएको छ । यी आयोजनामध्ये आगामी आवमा पाँच आयोजनाको विस्तृत अध्ययन गरिने उहाँले बताउनुभयो ।

एकीकृत खानेपानी तथा सरसफाइ आयोजना विभिन्न शहरमा सम्भाव्यता अध्ययन गरी आगामी आवमा पाँच आयोजनामा विस्तृत आयोजना अध्ययन गरिने मन्त्री मगरले बताउनुभयो । तराई मधेशमा जनसङ्ख्या अनुरुप भूमिगत पानी घटिरहेकाले ठूला नदीमा आधारित थोक वितरण प्रणाली सञ्चालन गरिने मन्त्री मगरले जानकारी दिनुभयो । त्यस क्षेत्रमा आर्सेनिक समस्या समाधान गर्न हाल प्रदेशबाट कार्यान्वयन भइरहेका आयोजना सम्पन्न गर्न बजेट विनियोजन भएको छ । मन्त्रालयले खानेपानी सेवा नपुगेका बस्ती तथ्याङ्क सङ्कलन गरी खानेपानी सरसफाइ स्वच्छता अभियान वास योजना तयार गर्ने उहाँले बताउनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्