Logo

बामदेव सरकारमा नजाने, ओलीविरुद्ध यस्तो बनाए रणनीति



काठमाडौं, ४ असार । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नजाने भएका छन् । उनले नेकपा अध्यक्ष समेत रहेका ओलीप्रति धेरै असहमति रहेकाले सरकारमा नजाने भएका हुन् ।

गौतम निकट पत्रकार विश्वमणि सुवेदीले आज सामाजिक सञ्जाल फेसबुकमा गौतम सरकारमा जाने हल्ला निराधार भएको भनेका छन् । ओलीको कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ति असहमति रहेको समेत उल्लेख गरेका छन् ।

अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विषयमा गौतम ओलीको विपक्षमा उभिएको समेत सुवेदीले लेखेका छन् । सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नभएको, सरकार पर पार्टी अलग किसिमले चलेको विषयमा गौतमको छिट्टै सामुहिक प्रतिक्रिया आउने भनिएको छ । गौतम एकैपटक एमसीसीबारे पार्टीमा कडा रुपमा प्रस्तुत भई सार्वजनिक रुपमा बोल्ने बुझिएको छ ।

यसअघि ओलीले गौतमलाई राष्ट्रियसभा सदस्य बनाएर उपप्रधानमन्त्री बनाउने प्रस्ताव गरेको चर्चा चलेको थियो । तर, गौतम ओलीबाट पटक पटक धोका भएको भन्दै ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुनेगरी तयारीमा रहेका छन् । विश्वस्त स्रोतका अनुसार गौतम ओलीको विकल्प खोज्नुपर्ने गरी कडा रुपमा तयारी गरिरहेका छन् । यसले नेकपाभित्र अबको विवाद उत्कर्षमा पुग्ने अवस्था निर्माण भएको छ ।



प्रतिक्रिया दिनुहोस्