Logo

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उजुरी



काठमाडौँ, ५ असार । कार्यालय समयमा कुटपिटमा संलग्न भएको आरोपमा सप्तरीको महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उजुरी परेको छ ।

अधिकृत ४२ वर्षीय रामलखन यादवविरुद्ध उनका छिमेकी महादेवा–१ पकरीका रामशरण यादवले जिल्ला प्रहरी कार्यालयमा बिहीबार उजुरी दिएको हो । प्रमुख प्रशासकीय अधिकृत यादवसहित उनीका दाजुभाइले बाँसको भाटासहित घरेलु हतियारले आइतबार आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको भन्दै रामशरणले उजुरी दिएको बताएका छन् । आक्रमणमा परी रामशरणका भाइ ३४ वर्षीय कालीचरणको टाउको फुटेर गम्भीर घाइते भएका छन् ।

घाइते कालीचरणलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले उपचार गर्न नसकी रेफर गरेपछि नोबेल अस्पताल विराटनगरमा भर्ना गरिएको छ । विराटनगरमा उनको चिन्ताजनक अवस्थामा उपचार भइरहेको श्रीमती रामसुन्दर देवीले बताएका छन् । कालीचरणलाई जोगाउन जाँदा घाइते हुनुभएकी कालीचरणकी भाउजू अडहुलियादेवी यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामलखन र रामशरणको सँगै जोडिएको जग्गाको साँधमा रहेको ऐलानी जग्गाको भोगका विषयमा दुवै पक्षबीच लामो समयदेखि विवाद रहेको स्थानीय बलरम यादवले बताएका छन् । विवादित जग्गामा कसैले घर नबनाउने गाउँलेको निर्णय भए पनि आरोपितले मौका छोपी जबर्जस्ती घर बनाउन लागेको र ऐलानी जग्गा खाली राख्नुपर्छभन्दा बाँसको भाटासहित घरेलु हतियारले आक्रमण गरेको उनले बताएका छन् ।

सो घटनाका बेला आफू नरहेको प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले बताएका छन् । घटनाका प्रत्यक्षदर्शी हरिनारायण यादवले घटनाका बेलाको तस्विर देखाउँदै अधिकृत यादव घटनामा प्रत्यक्ष संलग्न रहेको दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालय, सप्तरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ । हालसम्म कोही पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्