Logo

भीमदत्त नगरपालिकाद्वारा रु एक अर्ब ४६ करोड प्रस्तुत



काठमाडौँ, ५ असार । कञ्चनपुरको भीमदत्तनगरपालिकाले बिहीबार सातौँ नगरसभाले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ४६ करोड ७५ हजारको बजेट ल्याएको छ ।

नगर सभाबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो । कोरोना महामारीलाई मध्यनजर गरी स्वास्थ्य, शिक्षा, रोजगार, उत्पादनलाई प्राथमिकता दिएर नीति, कार्यक्रम र बजेट बनाइएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिएका छन् ।

सभामा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वराज्यमन्त्री प्रकाश रावलले नगरसभाबाट पारित योजना कार्यान्वयनका लागि प्रदेश सरकार सहकार्य गर्ने बताएका छन् । उनले स्थानीय सरकारले पास गर्ने योजना कार्यक्रममा प्रदेश सरकार सहकार्य र समन्वय गरी जाने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

कोरोनाका कारण भारतबाट घर फर्किएका नागरिकलाई रोजगारी दिने गरी बजेट ल्याउन आग्रहसमेत गरेका छन् । प्रदेशसभा सदस्य मानबहादुर सुनारले भीमदत्त नगरपालिकाले तीन वर्षमा विकास निर्माणमा फड्को मारेको उल्लेख गर्दै सातौँ नगरसभाबाट नगर विकासको ठोस नीति र कार्यक्रम पारित हुने विश्वास व्यक्त गरेका छन् ।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह, महाकालीमा चार लेन पुल, मझगाउँ विमानस्थल, महाकाली अस्पताल सुधारलगायत ठूला योजनालाई तिनै तहको सरकारले प्राथमिकता दिएको प्रदेश सदस्य सुनारले बताएका छन् । यसअघि भीमदत्त नगरपालिकाले रु एक अर्ब ३० करोड बजेट विनियोजन गरेको थियो । त्यसैगरी नगरसभामा अर्का प्रदेशसभा सदस्य लालबहादुर खड्काले स्थानीय तहका मागअनुसारका योजनालाई प्रदेश सरकार प्राथमिकता दिने बताएका छन् ।

प्रदेश सरकारले कोरोना महामारीलाई सम्बोधन हुने गरी कृषिलाई आधुनिकीकरण, व्यवसायीकरणका कार्यक्रम ल्याएको उनले जानकारी दिएका छन् । बजेटमा एक सहकारी एक उत्पादन, गरिब पहिचान, योग खेलकूद कार्यक्रम, एक वडा एक उत्पादन, करेसाबारी निर्माणलगायतका नयाँ कार्यक्रम समावेश गरिएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्