रामशरण महतको प्रश्न : अमेरिकाको सैनिक नेपालमा आउँछ भन्ने हाँसउठ्दो कुरा कहाँबाट कल्पना गरेर गरिएको हो ?

'एमसीसी पारित हुनुपर्छ, संसदमा गइसकेको त्यसलाई सभामुखले संसद्मा पेश गर्नुपर्छ'


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले अमेरिकाको सैनिक नेपालमा आउँछ भन्ने कुरा हाँसउठ्दो कुरा भएको भन्दै यस्तो कुरा कहाँबाट कल्पना गरेर गरिएको हो ? भन्दै उल्टै प्रश्न उठाएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतले एमसीसी नेपालको हितमा रहेको बताएका छन् । हेरौं महतसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

एमसीसी पार गर्न कांग्रेसले लबिङ गरिरहेको छ, तर सत्तापक्ष दलभित्र विवाद चलिरहेको छ नि कसरी पारित होला ?

नेपाली कांग्रेसले मात्रै भन्ने कुरा होइन । यो राष्ट्रिय हितको कुरा हो । एमसीसीको सम्झौता गर्नको लागि विगत १० वर्षदेखि विभिन्न सरकारहरु थिए । पूर्व एमाले नेतृत्वको सरकार पनि थियो, पूर्व माओवादी नेतृत्वको सरकार पनि थियो भने कांग्रेसको नेतृत्वको पनि सरकार थियो । सबै सरकारले यो एमसीसी सम्झौता अन्तर्गत सम्झौता गरेर नेपालको पूर्वाधार विकासको लागि ठूलो अनुदान सहयोग प्राप्त गर्नको लागि प्रयासरत थिए । विगतमा सबैको कमिट्मेन्ट थियो । यो राष्ट्रिय हितमा थियो । अन्त्यमा यो सम्झौता आजभन्दा तीन वर्ष अगाडि शेरबहादुरजी प्रधानमन्त्री हुँदा भएको हो । त्यसभन्दा अगाडि सरकारहरुसँग थे्रस्होल्ड सम्झौता भएको हो । फेरि वर्तमान सरकारले पनि दुई वर्ष अगाडि नै संसद्मा पेश गरिसकेको हो । अब यो एमसीसी चाँडोभन्दा चाँडो संसद्बाट अनुमोदन गरेर कार्यान्वयन गर्नुपर्छ भन्ने नेपाली कांग्रेसको पहिलादेखिकै भनाइ हो ।

तर, नेकपाका केही शीर्ष नेताहरुले त यसलाई राष्ट्रघाती कदम भनेका छन् नि ?

बेलाबखत यस्ता आरोपहरु सुनिराखिएको छ । यसले जे भनेर विरोध गरिँदैछ । त्यो विलकुलै हास्यास्पद र काल्पनिक कुरा हो । जस–जसले यो भनिरहनुभएको छ, उहाँहरु भ्रममा हुनुहुन्छ । यसको कि उहाँहरुले राम्रोसँग अध्ययन गर्नुभएको छैन । कि भ्रममा हुनुहुन्छ, कि भने राजनीतिक पूर्वाग्रहको आधारमा यस्ता विचारहरु प्रस्तुत गरिएको हो । यसबाट अमेरिकाको सैनिक नेपालमा आउँछ भन्ने हास उठ्दो कुरा कहाँबाट कल्पना गरेर गरिएको हो ? अमेरिकासँग सम्बन्ध बिगार्न अनावश्यक आरोप लगाएर जनतालाई भ्रममा पार्ने कुरा गरेको जस्तो लाग्छ । सम्झौता अन्तर्गत अमेरिकाले ५० करोड डलेर यो आयोजनाको लागि दिन्छ । यो रकम सैनिक तालिमलगायत रक्षात्मक कुराहरुमा कहीं पनि खर्च पाइँदैन । पर्यावरण, वातावरण बिगार्न पनि खर्च पाइँदैन । यो रकम जुन आयोजनाको लागि भनेर तोकिएको छ त्यसमा खर्च गर्न पाइन्छ । यसमा आर्मीसँग सम्बन्धित कुनै कुरै छैन । विलकुलै आर्थिक विकाससँग सम्बन्धित कुरा हो । अर्को नेपालको कानुनभन्दा माथि भन्ने कुरा पनि छैन । सम्झौता गर्दा नेपालको सन्धी ऐनले कुनै पनि विदेशीसँग सन्धि, सम्झौता गरेका छौं भने सम्झौता गरिएका बुँदाहरु हामीलाई मान्य हुनुपर्छ । त्यो नेपालको कानुनभन्दा बिपरीत भयो भने सम्झौतामा जुन हस्ताक्षर भएको छ । त्यो अनुरुप काम गर्नुपर्छ । कानुनी मान्यता सरह नै हुन्छ । यो संविधानभन्दा माथि हुनसक्दैन भनेर स्वयम उनीहरुले भनेका छन् ।

अमेरिकाले चाह्यो भने रद्द हुनसक्ने, नेपालले चाहँदा चाहीं रद्द हुन नसक्ने संसदीय जटिलतातिर गयो नि ?

यदि कुनै कारणले नेपाललाई चाहिँदैन भन्ने लाग्यो भने नेपालले नै रद्द गर्न सक्छ । अमेरिकाले पनि रद्द गर्छ सक्छ । केही महिना अगाडि नै नोटिस दिएर यो योजना हामी रद्द गर्न चाहन्छौं भनेर हामीले पनि भन्न सक्छौं । उनीहरुले भन्न सक्छन् । त्यसमा केही कारण भयो भने । तर, यो हाम्रो देशको लागि आवश्यकता छ । यो रद्द गर्नुपर्ने कुनै कारण छैन ।

२०१९ मा वासिङटन डिसीमा सम्झौता भएको एमसीसी सैन्य रणनीतिको अभिन्न अंग हो भनिएको छ भनेर बाहिर चर्चा छ नि ?

त्यो पनि गलत कुरा हो । त्यसमा कुनै सत्यता छैन । इन्डोप्यासेफिक रणनीति भनेको वर्तमान राष्ट्रपति डोनाल्ट्रम राष्ट्रपति भएपछि आजभन्दा दुई, अढाइ वर्ष अगाडि घोषणा गरेको हो । यो एमसीसी आजभन्दा १६ वर्ष अगाडि २००४ मा अमेरिकाको कंग्रेसले, त्यहाँको संसद्ले पारित गरेको हो । मिलेनियम च्यालेन्ज कर्पोरेसनले मिलेनियम डेभलपमेन्ट होस् । राष्ट्रसंघले पारित गरेका सहस्राब्दी विकासका लक्ष्यहरु हासिल गर्नको लागि, न्यून आयभएका मुलुकहरुको जीवनस्तर उठाउनका लागि, त्यहाँको आर्थिक बृद्धि गर्नको लागि संयुक्त राष्ट्रसंघको अपीलअनुसार अमेरिकाले सहयोग दिलाएको हो । सहस्राब्दी विकासका लक्ष्यहरु त्यसपछि अहिले दीगो आर्थिक विकासको लक्ष्य पुरा गर्नको लागि अमेरिकाले दिएको सहयोग हो । त्यो पनि आजभन्दा १६ वर्ष अगाडि अमेरिकाले कानुन बनाएर दिएको हो । यो सहयोग प्रतिस्पर्धाको लागि विश्वका झन्डै सय मुलुकले एप्लाई गरेका छन् । त्यसका केही सर्तहरु थिए, त्यसमा करिवकरिव ५० मुलुकबाट प्रतिस्पर्धा गरेर यो सहयोग पाएका छौं । सहयोग पाउने मुलुकहरुमध्ये हामी पनि हौं । करिव ५० मुलुकले यो सहयोग पाएका छन् त्यो मध्ये हामी पनि हौं । यसको लागि मुलुकमा जनअधिकार हुनुपर्छ, प्रजातान्त्रिक व्यवस्था हुनुपर्छ । जनताको लागि सरकारले लगानी र सार्वजनिक खर्च गरेको हुनुपर्छ । लगानीको वातावरण हुनुपर्छ । इन्भेष्टमेन्ट फ्रेन्डली फोर्स फ्रेन्ड हुनुपर्छ ।

एमसीसीको बारेमा नपढिकन प्रतिक्रिया दिने भनेर प्रधानमन्त्रीले चेतावनी दिनुभयो, तर सत्तारुढ दलकै केही नेताहरुले त नेपालमा चीनको गतिविधि रोक्न यो सहयोग दिएको भनेका छन् नि ?

यस विषयमा उहाँहरु विलकुलै भ्रममा हुनुहुन्छ । उहाँहरुले जानकारी बिनानै भनिरहनुभएको छ । प्रधानमन्त्रीले भनेको कुरा मलाई सही पनि लाग्छ । उहाँहरुले अध्ययन पनि गर्नुभएको छैन । यो इन्डोप्यासेफिक रणनीतिअन्तर्गतको कुरा हुँदैहोइन । यो त ग्लोबल फिनोमेनान् हो । अफ्रिकाका मुलुकहरुलाई यही एमसीसीमार्फत सहयोग दिइएको छ । यसियाका अन्य मुलुकहरुलाई पनि दिइएको छ ।

बंगलादेशले त अस्वीकार ग¥यो नि ?

बंगलादेशले एप्लाइ गरेको थिएन होला, दिएपनि पाएन होला । चीनको सबैभन्दा नजिकको मुलुक मौगोलियाले पनि पाएको छ । यस्तै चीनका कतिपय नजिकका मुलुकहरुले पनि यो सहयोग पाएका छन् । यो इण्डोप्यासेफिक अन्तर्गतको यो सम्झौता हुँदैहोइन । इन्डोप्यासेफिक हुनुभन्दा अगाडि नै यो एमसीसीको सम्झौता भएको हो ।

यदि इण्डोप्यासेफिक अन्तर्गत होइन भने अमेरिका अहिलेसम्म आधिकारिक व्यक्तव्य किन नदिएको ह्वाइट हाउस किन चुप छ त ?

किन पटक–पटक व्यक्तव्य दिने ? हाम्रो त सम्झौतामा जे हस्ताक्षर भएको त्यही मान्यता हुनेहो । काल्पनिक कुराहरु किन गरिरहने ? इन्डोप्यासेफिक रणनीति भनेको यो होइन है भन्ने अथवा इन्डोप्यासेफिक भनेको के हो ? किन यो मिल्यो भनेर हामीले प्रस्ट गर्नुपर्छ । हिजो सम्झौतामा हस्ताक्षर गर्दा जे लेखिएको छ त्यही हुने हो । अब अमेरिकाले एउटा कुनचाहींले इण्डोप्यासेफिक अन्तर्गत भन्यो भन्दैमा त्यसका पछिपछि दौडिनुपर्ने आवश्यकता छैन । इण्डोप्यासेफिक रणनीतिमा पनि विभिन्न पक्षहरु छन् । किन भने इण्डोप्यासेफिक मुलुकहरुको विकासको लागि अमेरिकाले त्यहाँको सुरक्षाको लागि, जीवनस्तर उकास्नको लागि, व्यापार व्यवसायको लागि अगाडि बढाउन सहयोग गर्छु भनेर गरेको हुन्छ । त्यसकारण कसैकसैले त्योसँग मिल्दोजुल्दो भनेहोलान् । तर, इन्डोप्यासेफिक रणनीति प्यासेफिक महासागर र इन्डियन महासागरबीचमा स्वतन्त्र व्यापार हुनुपर्छ । भन्ने कुराहरु छन्, त्यसमा हाम्रो कुनै सम्बन्ध छँदैछैन । हाम्रो नेपालको हितमा जुन कुरा छ, त्योसँग सम्बन्धित मात्रै समावेश छ ।

बीआरआई र एमसीसीको चेपुवामा नेपाल पर्दैछ भन्ने कुरा पनि आएको छ नि ?

बीआरई भनेको चीनले विश्वका सबै क्षेत्रमा कनेक्टिभिटी बढाउने । यातायातका सुविधा बनाउने । त्यसमा रोड कनेक्सन, ट्रेन कनेक्सन, सीप कनेक्सन इत्यादि बढाउने भन्ने कुरा छ । त्यस्तै यताको इन्डोप्यासेफिक भनेमको ओपन ट्रेड बढाउने जस्तो प्यासेफिक ओसनबाट र इन्डियन ओसनबाट फ्रि कम्पेनेन्ट होस् भन्ने छ । अनि एमसीसीमा पनि यी दुईवटाको कम्पिडिसन छ भन्ने कुरा कतिपयले गरेका होलान् । त्यसमा त हामी चीनको पक्षमा छौं, अमेरिकाको पक्षमा छैनौं भनेर अमेरिकाले इन्डोप्यासेफिक र इन्डोओसन्को बीचमा कुरा गर्छ । चीनले आफ्नो बीआरआई अन्तर्गत सारा संसारभरि आफ्नो व्यापार व्यावसाय विस्तार गर्ने भन्ने होला । उनीहरुको प्रतिस्पर्धा आफ्ना–आफ्ना ठाउँमा होलान् त्यो हाम्रो चिन्ताको विषय होइन ।
भीम रावलले त म डा. रामशरमसँग बसेर कुरा गर्न म तयार छु, उहाँले जुन कुरा भनिरहनुभएको त्यो गलत हो राष्ट्रघात हो भन्नुभएको छ नि ?
उहाँ पनि भ्रममा हुनुहुन्छ । पहिला पनि उहाँसँग कुरा गर्दा भ्रममा परेको मैले देखेको छु । जसरी नेपालले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अरुण तेस्रो आयोजना त्यसैगरी अपरकर्णाली आयोजना इन्डियन कम्पनीहरु छानिए । त्यसपछि यसलाई दिनै हुन्न भनेर उहाँहरु भ्रममा हुनुहुन्थ्यो । पछि सहमतिमा उहाँहरु पनि आउनुभयो । त्यसैले उहाँको भनाइसँग म विलकुलै सहमति छैन । उहाँ त मित्र नै हो । एमसीसीको बारेमा उहाँले विचारहरु राख्नुभएको छ । त्यसमा धेरै निराधारका कुराहरु मैले देखेको छु । अर्को जुन उहाँहरुले कुरा निकाल्नुभएको छ । नेपालको कानुनभन्दा माथि, संविधानभन्दा माथि भनेर जुन अभिव्यक्ति दिनुभएको छ । त्यसलाई पनि राम्रोसँग अध्ययन गरेर यो चाहीं सही होइनरहेछ भनेर स्पष्ट हुनुपर्छ । यसै सिलसिमा एउटा भ्रम के पनि रहेछ भने नेपालमा एमसीए भन्ने कार्यालय सरकारले खोलेको छ । नेपालको विकास समितिसम्बन्धी ऐन अन्तर्गत एमसीए भन्ने खोलिएको हो । त्यो एमसीए प्रमुख अर्थसचिव हुन्छ । बोर्डका सदस्यहरु अरु विभिन्न मन्त्रालयका सहसचिवहरु हुनुहुन्छ । नेपाल सरकारले तोकेका मान्छेहरु हुन्छन् । यो एमसीसीको आयोजनालाई त्यसले सुपरीवेक्षण गर्ने, निर्देशन दिने सबै अधिकार त्यो एमसीएको अफिसलाई हुन्छ । त्यो अफिस नेपाल सरकारका कर्मचारीहरुको नियन्त्रणमा चलेको । नेपाल सरकारका कर्मचारीहरु भएको र सरकारको अधिनमा रहेको एमसीएले नै यो सारा आयोजनाको सञ्चालन गर्छ । उहाँहरुलाई यो एमसीए पनि अमेरिकाको कम्पनी हो भन्ने लाग्छ । यस्तो विभिन्न प्रकारका भ्रममा परेको पनि मैले देखेको छु । त्यो एमसीएको अफिस नेपालको मातहतमा रहेको आधिकारिक बढी हो । त्यहाँका कर्मचारी पनि वर्तमान सरकारले नै नियुक्ति गरेको जस्तो लाग्छ । नेपाल सरकारकै कर्मचारीहरु त्यहाँ छन् । यो एमसीएले नै एमसीसीका बुँदाहरुमा जुन जुन भ्रम आएका छन् । त्यसको स्पष्ट ढंगले स्पष्टिकरण दिइएको छ । यो अखबारहरुमा पनि आएको छ । त्यो नै आधिकारिक संस्था हो ।

नेकपाका धेरै शीर्ष नेताहरु यदि एमसीसी पारित भयो भने नेपाल दूर्घटनामा जान्छ भनिरहनुभएको छ नि ?

त्यो दूर्घटनामा जान्छ भन्ने उहाँको कल्पना मात्रै हो । यदि पारित गर्नुहोस् अनि दूर्घटनामा जान्छ कि जाँदैन पछि देख्नुहुन्छ । उहाँहरुले लेखेर राखे हुन्छ यसमा दूर्घटनामा जाने भन्ने कुरै छैन । मलाई त यो सबै कुरा बुझेपछि उहाँहरु पनि सहमत हुनुहुन्छ जस्तो लाग्छ ।

त्यसोभए एमसीसी पारित हुनुपर्छ हो ?

पारित हुनुपर्छ, संसदमा गइसकेको त्यसलाई सभामुखले संसद्मा पेश गर्नुपर्छ । हिजो जुन सरकारले सम्झौता गरेको थियो त्यसमा माओवादीको सरकार पनि सहमत छ । शेरबहादुरजीको नेतृत्वको कांग्रेस सरकार र प्रचण्डजीको नेतृत्वको माओवादीको सरकारको पनि सहमति छ । शेरबहादुरजीको नेतृत्वमा संयुक्त सरकार थियो त्यही संयुक्त सरकारको बेलामा सम्झौता भएको हो । अहिले आएर उहाँहरु यसको खिलापमा कसरी हुनुभयो । मैले केही बुझ्न सकेको छैन । योभन्दा अगाडि पनि एमसीसीको क्रममा सबै सरकारहरु संलग्न छन् । उहाँहरुको केही पूर्वाग्रह छ कि म भन्न सक्दिँन ।

अमेरिकाको चीनलाई एक्याउने रणनीति होइन हो ?

विलकुलै होइन । यो त संयुक्त राष्ट्रसंघको आह्वान अनुसार न्यून आय भएका मुलुकहरुको आर्थिक विकासको लागि सारासंसारका मुलुकहरुलाई सहयोग गर्ने नीतिअन्तर्गत, कानुनअन्तर्गत आएको हो । एमसीसी भन्ने पाल्र्यमेन्टले पास गरेको हो ।

यो सम्झौता गर्दा नेपालका अर्थमन्त्रीले हस्ताक्षर गर्नुभयो, अमेरिकाको कर्मचारीले गर्नुभयो त्यसले नेपालको राष्ट्रियतामाथि तपाईंहरुले धावा बोल्नुभयो भन्ने आरोप पनि छ नि ?

म तपाईंंलाई राम्रो बुझाइदिन्छु । एमसीसी भनेको पाल्र्यमेन्टले कानुन पास गरेको संगठन हो । एमसीसीको प्रमुखले हस्ताक्षर गर्छ । जसको हैसियत मन्त्री सरह हुन्छ । यहाँ पनि मन्त्रीसम्मका हैसियतका योजना आयोगका उपध्यक्षहरुले पनि सही गरिराखेका हुन्छन् । किन एमसीसी भनेको अमेरिकाको वैदेशिक सहायता दिने संगठन हो । त्यसैका प्रमुखले हस्ताक्षर गर्ने हो । किन भने यो उनीहरुको परराष्ट्र मन्त्रालयअन्तर्गत होइन । यो गृह मन्त्रालयअन्तर्गत, रक्षा मन्त्रालयअन्तर्गत पनि होइन अर्थमन्त्रालय अन्तर्गत पनि होइन । यो त पाल्र्यमेन्टले पास गरेको बडी हो । यसमा एमसीसीकै व्यक्ति जो उपाध्यक्ष कि अध्यक्षले गरेका छन् ।

प्रोटोकल मिलेन नि ?

यसमा प्रोटोकल किन चाहियो । कहिलेका यहाँ त मलाई थाहा छ । झलनाथजीले विदेशी राजदूतसँग गएर पनि उद्घाटन गर्नुभएको कहीलेकाही हुँदा । त्यसमा प्रोटोकलको किन कुरा नगरेको प्रधानमन्त्री भएको बेलामा । एमसीसीको उपाध्यक्षको पनि प्रोटोकल निकै माथि होला । मन्त्रीसरह पनि होला अथवा त्योभन्दा माथिको पनि होला त्यही भएर हस्ताक्षर गरेहोलान् । हाम्रो देशका कतिपय हस्ताक्षर योजना आयोगका अध्यक्ष, उपाध्यक्षले गरेको हुन्छ । म पनि योजना आयोगको उपाध्यक्ष हुँदा कतिपय ठाउँमा अरु देशका मन्त्रीहरुले हस्ताक्षर गरेको यहाँको योजना आयोगको उपाध्यक्षले हस्ताक्षर गरेको थियो । यसमा मन्त्री टु मन्त्री नै हुनुपर्छ भन्ने छैन ।

अमेरिकाको चाहीं ह्वाइट आउसले पारित गर्नुपर्दैन नेपालको मात्रै पाल्र्यमेन्टले पारित गर्ने ?

एमसीसी भनेको नै पाल्र्यमेन्ट पास गरेको काम हो । जुन हामीलगायत अन्य मुलुकहरुले पाइरहेका छन् त्यो उनीहरुको पाल्र्यमेन्ट पास गरेको कानुन अन्तर्गत नै छ । त्यसैले यसलाई संसद्ले पास गरोस् ।

एमसीसी पास भयो भने अमेरिकाले केही सामान ल्यायो भने जाँच गर्नुपर्दैन रे ?

यी सबै काल्पनिक कुराहरु हुन् । यो नेपालले मात्रै होइन । नेपालभन्दा धेरै धनी ठूला–ठूला राष्ट्रहरु जस्तो इन्डोनेसिया, अफ्रिकाका पनि ठूला–ठूला राष्ट्रहरुले पाइराखेका छन् । त्यहाँ उनीहरुको संसद्ले पास गरेको छ । अनि नेपालले चाहीं गर्नुनहुने ?

राजनीतिक दललगायत अन्य नागरिक समाजदेखि बुद्धिजीवीहरुले पनि एमसीसी लिनुहुँदैन भनेका छन् नि ?

भन्लान् कतिपयले पूर्वाग्रही ढंगले भन्लान् । कतिले भ्रममा परेर पनि भनेका होलान् । कतिले नजानेर पनि भनेका होलान् । कतिपयले फलानो नेताले बोलेका छ । फेरि मैले पनि उसैलाई समर्थन गर्नुपर्ने भनेर पनि भनेका होलान् । त्यसकारण यसमा भ्रममा पर्नुपर्ने आवश्यकता छैन ।

नेपाल सरकारले चाह्यो भने एमसीसी रद्द गर्न सक्छ ?

यो एमसीसीको सम्झौतामै लेखेको छ । लिन नचाहेमा यति समय अगाडि सूचना दिएर रद्द गर्न सक्छ भनेर । अमेरिकाले पनि गर्न सक्छ, नेपालले पनि गर्न सक्छ । यसमा रद्द गर्नुपर्ने कारण पनि दिनुपर्ने छैन भनेको छ दुई पक्षले । तपाईंले एउटा कुरा यदा राख्नुहोस् यत्रो ठूलो रकम नेपालको हितमा छ कि छैन । अहिलेसम्म आएका सहयोगहरु चाहे त्यो हिन्दूस्तानबाट होस् अथवा चीन वा अन्यबाट । त्यो लिँदा उनीहरुकै सामान किन्नुपर्ने । उनीहरुकै ठेकेदारलाई दिनुपर्ने छन् । ऋणमा लिएको पनि त्यस्तो छ । विदेशले दिएको अनुदानमा उनीहरुकै मुलुकको सामान प्रयोग हुने । उनीहरुकै ठेकेदारले काम गर्ने भन्ने हुन्थ्यो । चीनबाट ऋणमै लिएको अनुदानमा पनि उनीहरुकै सामान प्रयोग हुनुपर्ने, उनीहरुकै ठेकेरदार हुनुपर्ने भनिएको छ । तर, अमेरिकाले यति उदारतापूर्वक स्वतन्त्र ढंगले दिएको छ । यत्रो ठूलो रकम आधा अर्ब डलर नेपालको ६० अर्ब रुपैयाँ बराबरको सहयोग दिएको छ । यसबाट प्रशारण लाइन बन्दा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ठेकेदार छानियोस् । त्यो चीनबाट पनि छान्न सकिन्छ भारतबाट पनि सकिन्छ । तेस्रो मुलुकका पनि हुनसक्छन् । अमेरिकाकै मान्छे ठेकेदार हुनुपर्छ, अमेरिकाकै निर्माण सामाग्री ल्याउनुपर्छ भन्ने पनि छैन । यति उदारताका साथ उनीहरुले सहयोग दिएको छ । यस्तोमा पनि आरोपप्रत्योरोप गरेका छन् ।

५० अर्ब भनेको केही होइन देशबाट उठाउन पनि सकिन्छ एमसीसी लिनुहुँदैन भनेर जनमत बाँडिएको छ नि ?

त्यो जनमत नै देशको विरोध र राष्ट्रिय हितबिपरीत हो ।

पैसाभन्दा राष्ट्रियता ठूलो भनिएको छ नि ?

राष्ट्रियता ठूलो हो । यसले त्यो राष्ट्रियतालाई बलियो गर्छ । नेपालमा आर्थिक विकास भयो भने, नेपालको पूर्वाधारको विकास राम्रो भयो भने, यहाँको लगानी बृद्धि हुन्छ । नेपालको जलस्रोतको उत्पादन बढी भएर विदेशमा निर्यात गर्न सक्छौं । नेपालको इज्जत बढ्छ । राष्ट्रियता भनेको आर्थिक विकासमा पनि भरपर्छ । अमेरिकाजस्तो ठूलो राष्ट्रले नेपालको विकासमा जहिले पनि सहयोग गरेको छ । नेपाललाई सबैभन्दा पनिलाई देखि आर्थिक सहयोग गर्ने मुलुक अमेरिका हो । नेपालको राष्ट्रिय हितबीपरित अमेरिकाले अहिलेसम्म कुनै पनि काम गरेको छैन । अहिले अमेरिका र चीनको अलिअलि खटपट हुनथाल्यो भनेर चीनलाई खुसी पार्नुपर्छ भनेर एकथरीको विचार आएको छ । तर, मैले जानेसम्म चीन पनि यसको विपक्षमा छैन । उनीहरुको झगडा भयो भन्दैमा नेपाल एउटाको पक्ष र विपक्षमा जानुहुँदैन भन्ने अर्को पक्ष होला । हामीहरु त कुनै पक्षमा हुँदैनौं । उनीहरुबीचको झगडा उनीहरुबीचमै होस् । त्यसमा हामी ततष्ट भएर बस्नुपर्छ । हाम्रो असंलग्न राष्ट्रअनुरुप नीति र सिद्धान्तहरु छन् त्यसैमा रहनुपर्छ ।  FILE PHOTO/RN