Logo

जुम्लामा ९० प्रतिशत रोपाइँ सम्पन्न



काठमाडौँ, ६ असार । जुम्लामा करीब ९० प्रतिशत धान रोपाइँ सकिएको छ । सिंजा, पाँच सय, दानुअ, चौधबीस र असी दराखोलाका रोपाइँ हुने क्षेत्रमा कालीमार्सी, लेकाली एक र तीन तथा चन्दननाथ एक र तीन जातको धान रोपाइँ भएको छ ।

मार्सी यहाँको रैथाने धान हो भने अरु सबै कृषि अनुसन्धान केन्द्रले विकास गरेका नयाँ जातका धान हुन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार यस वर्ष जिल्लामा दुई हजार ७५० हेक्टर जमीनमा धान रोपिएको अनुमान रहेको बताएका छन् । अघिल्लो वर्ष दुई हजार आठ सय हेक्टरमा धान रोपिएको थियो ।

जिल्लामा पचास हेक्टरमा तरकारी खेती गरिएको छ । तलिचौर, कुडारी र रारालिहीका किसान तरकारी खेतीतिर आकर्षित भएको हुनाले यस वर्ष धान रोप्ने क्षेत्रफल ५० हेक्टर घटेको प्रमुख देवकोटाले बताएका छन् । चन्दननाथ र गुठीचौरमा पूरै रोपिसकिएको छ भने कुडारी, रारालिही र सिंजामा केही रोपाइँ हुन बाँकी छ । सिंजामा असार १० गतेसम्म पनि रोपाइँ चल्ने गरेको छ । (रासस)

 



प्रतिक्रिया दिनुहोस्