Logo

कोरोना कहरकै बीच युरोपमा एक नेपाली व्यवसायीको ‘लोभलाग्दो समाजसेवा’ (फोटोकथा)



२१ जुन, २०२० लिस्बोन, पोर्चुगल -कोरोना भाइरसको यो विश्वव्यापी महामारीका बीच घरभित्रै बसिरहनुपरेको अहिलेको अवस्थामा तपाईँको घरको मूल ढोका ढकढक्याउँदै कसैले केही खानेकुरा ल्याईदियो भने तपाईँ के भन्नुहुन्छ ? कोरोनाका कारण भएको ‘लकडाउन’ र त्यसपछि उत्पन्न परिस्थितिले विश्वका करोडौंलाई हातमुख जोड्न समेत कठिन बन्दै गएको अहिलेको अवस्थामा पोर्चुगलको राजधानी लिस्बनका दुई दर्जन वडाहरुका निम्नबर्गीय परिवार अहिले यही अनौठो परिस्थतिको सामना गरिरहेका छन् । कोरोनाका कारण रोजगारी गुमेपछि जनजीवन कष्टकर बन्दै जाँदा अहिले लिस्बनका सबै वडाका निम्नवर्गीय नागरिकहरुको घर घरमा खाना पु¥याउने अभियान सञ्चालन भै रहेको छ । अनि यो अभियानको नेतृत्व गरिरहेका छन् पोर्चुगलका सफल व्यवसायी टंक सापकोटाले ।

कुनैबेला पोर्चुगलमै पहिलो पटक सूनको चुल्होमा पिज्जा बनाएर पिज्जा पारखीहरुको मत जितेर युरोपेमा चर्चा कमाएका व्यवसायी सापकोटाले अहिले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने एउटा पृथक, खर्चिलो र चुनौती अभियान सञ्चालन गरिरहेका छन् । २४ वडा रहेको लिस्बन नगरपालिकाभित्र अहिले दैनिकरुपमा ‘घुम्ती पिज्जा रेस्टुरेन्ट’ सञ्चालन गरेर सबैको ध्यान र मजदुरहरुको मन जितिरहेका सापकोटाको समूहल लिस्बनका प्राय सबै वडामा पुगेर घुम्ती रेस्टुरेन्टमार्फत् निम्नवर्गीय नागरिकको घर घरमा कम्तीमा एक छाकको लागि ताजा र शुद्ध खाना (पिज्जा) वितरण गरिरहेको छ । करिब ३ साता चल्ने यो अभियानकै लागि मात्रै भनेर उनले करिब ३५ लाख नेपाली रुपैयाँ बराबरको पिज्जा बनाउने घुम्ती अँगेनो (फोर्नो) किनेका छन् । अनि हरेक दिन सम्बन्धित वडाको संयोजनमा फरक–फरक ठाउँमा यो घुम्ती अँगेनो र पिजा बनाउन चाहिने सबै सामानहरु पु¥याउने गरिन्छ ।

यो अभियानको लक्षित व्यक्तिका नाममा हुने दुरुपयोगप्रति लक्षित गर्दै निम्नवर्गीय घर परिवारको पहिचान कसरी गर्नुहुन्छ भन्ने प्रश्न गर्दा व्यवसायी सापकोटा भन्छन्–“कोरोना संक्रमणका बेला सम्बन्धित वडाले तयार पारेका निम्नबर्गीय मजदुरहरुको सूचीलाई नै आधार बनाएर हामीले उनीहरुलाई बेलुकाको खाना अर्थात पिज्जा र जुस वितरण गरिरहेका छौं ।” वडाले उपलब्ध गराएको सूची अनुसार सापकोटाको समूहले हरेक दिन आवश्यक पर्ने पिज्जा सम्बन्धित वडामै गएर तयार पार्ने र त्यसलाई वडा कार्यालयको प्रतिनिधिको जिम्मा लगाउँछ । अनि यसरी तयार भएको पिज्जा कार्यालयले सम्बन्धित नागरिकहरुको घर घरमा गाडीमार्फत् पु¥याउने गर्दछन् । यसरी वडाको संयोजनमा खाना वितरणको काम हुँदा लक्षित लाभग्राहीसम्म सजिलैसँग खाना पुग्ने तथा दुरुपयोको कुनै गुञ्जायस नहुने उनी बताउँछन् । कोरोना भाइरसका कारण पछिल्लो समयमा पोर्चुगलको राजधानी लिस्बनमा सबैभन्दा धेरै संक्रमित देखिइरहेका बेला आवश्यक सबै सुरक्षा सावधानी अपनाएर अभियान सञ्चालन भै रहेको छ ।

व्यवसायी सापकोटा भन्छन्– “महामारीका बेला एक जिम्मेबार नागरिकको हिसावले मैले सामाजिक उत्तरदायित्व पुरा गरेको हुँ, भोलिका दिनमा मजस्ता सयौंले यो अभियान चलाउन सक्छन् ।” यही अभियानका लागि भनेर करिब ४० लाख नेपाली रुपैयाँ बराबर खर्च गरेर उनले पिज्जा पोल्ने ठूलो घुम्ती अँगेनो (फोर्ने) नै किनेका छन् । अनि यही फोर्नेमा तयार पारिएको पिज्जा ३ साताको समयमा लिस्बनका ८ हजार जनाको घरघरमा निशुल्क रुपमा पुग्ने गरेकोछ । पूर्व निर्धारित कार्यक्रम अनुसार जुन वडामा खाना बनाउने कार्यक्रम तय भएको छ, फोर्नोसहित अन्य सबै सामग्री त्यहि पु¥याएर पिज्जा बनाउन शुरु गरिन्छ । विश्वमा इटालियन पिज्जा र पास्ताका उत्कृष्ट सेफमध्येमा पर्ने सापकोटा आँफैंले पिज्जा बनाउँछन् । उनको यो अभियनलाई दैनिक १० जना नेपाली तथा सोही संख्यामा विदेशी कामदारले सहयोग गरिरहेका छन् । पिज्जा तयार गर्न सहयोग गर्ने कर्मचारीको तलव र पिज्जा तयार भएर वडा कार्याको गाडीसम्म पु¥याउँदा लाग्ने सबै खर्चको प्रबन्ध आफूहरुले नै गरेको उनी बताउँछन् ।

पिज्जा तयार हुनेवित्तिकै वडाका प्रतिनिधिहरु त्यसलाई गाडीमा राखेर निम्नबर्गीय नागरिकहरुका घर घरमा पुग्दछन् । फेरि उनीहरु फर्केर आएपछि मात्रै थप अर्को चरणका पिज्जाहरु तयार हुने गरेको छ । यसरी ताजा, स्वादिष्ट तथा गुणस्तरीय पिज्जाहरु घरमै पु¥याउन पाउँदा लिस्बन नगरपालिका पनि निक्कै खुसी देखिन्छ । यो अभियानलाई संयोजन गरिरहेको लिस्बन नगरपालिका अन्र्तगतको सामाजिक उत्तरदायित्व विभागका उपमेयर कार्लोस कास्ट्रो भन्छन् –‘बहुसांस्कृतिक र बहुभाषिक मानिसहरुको बसोबास रहेका लिस्बनभित्र यो कठिन अवस्थामा एकजना नेपाली व्यवसायीले शुरु गरेको सामाजिक अभियानप्रति सिँगो नगरपालिका हर्षित छ ।’ उपमेयर कार्लोस थप्छन –‘ हामीले नगरपालिकाको तर्फबाट नागरिकको लागि आवश्यक प्रबन्ध त मिलाएकै छौं तर, एउटा व्यक्तिले मात्रै चाह्यो भने पनि समाजका लागि धेरै गर्न सकिन्छ भन्ने यो एउटा अद्भूत उदाहरण हो ।’ त्यसो त सापकोटाले गरेको यो अभियानलाई अहिले पोर्चुगलका विभिन्न सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ समाचार बनाईरहेका छन् ।

करिब साढे २ दशकदेखि राजधानी लिस्बनलाई कर्मथलो बनाएर ४ वटा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका सापकोटाले ‘हामी एक्लैले संसारै बदल्न त सक्दैनौं, तर संसार बदल्न सहयोग गर्न सक्छौं’ भन्ने एउटा सकारात्मक सन्देश सहित समाजसेवालाई अभियानका साथ अघि बढाएका छन् । अहिलेको कठिन अवस्थामा यस्तो कामगर्ने सोच कसरी आयो भन्ने जिज्ञासामा सापकोटा भन्छन् –‘सामान्य अवस्थामा सबैले सहजै धेरै काम गर्न सक्छन्, तर म जहिलेपनि चुनौतीलाई चिरेर अघिबढ्न सकेमात्रै गन्तव्यमा पुग्न सकिन्छ भन्नेमा विश्वास राख्छु । त्यसैको निरन्तरता हो यो।’ फरक ढंगको समाजसेवा गर्ने सोच भएकाको लागि आफ्नो काम प्रेरणादायी हुनसक्ने उनको विश्वास छ ।

करिब १ हजार ८ सय घरका ८ हजार भन्दा बढी व्यक्तिलाई गुणस्तरीय पिज्जा खुवाउँदा कति खर्च हुन्छ त भन्ने जिज्ञासामा सापकोटा भन्छन् –‘खर्चको हिसावले यो निक्कै खर्चिलो काम हो, तर यहाँ खर्चभन्दा पनि समाजप्रतिको उत्तरदायित्व महत्वपूर्ण हो । त्यहि काम मैले गरेको हुँ । यो सबै अभियान सम्पन्न हुँदा करिब ९० लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान उनले गरेका छन् । बाग्लुङ्ग जिल्लाको दमेकमा जन्मिएका व्यवसायी सापकोटाले नेपालका पनि एकदर्जन बढी स्थानमा आफू र आफ्ना बयोबृद्द पिताको माध्यमबाट समाजसेवामा वर्षेनी लाखौं रकम खर्च गर्दै आइरहेका छन् । केही वर्षअघिमात्रै चितवनको देवघाटमा रहेको एउटा विद्यापीठलाई सापकोटाको नेतृत्वमा उनका ९५ वर्षका पिता जगुपति सापकोटाको हातबाट करिब ५२ लाख रुपैयाँ सहयोग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्