Logo

पिसीआर परिक्षण र कन्ट्रयाक्ट ट्रेसिङ चुनौति, यस्तो छ सरकारको तयारी



असार ७, काठमाण्डौ । कोरोना भाइरसको प्रकोपले विश्व नै आक्रान्त छ । २ सय १३ देश तथा स्वशासित क्षेत्रमा विस्तार भएको कोरोना महामारी नेपालमा समेत बढ्दो क्रममा देखिएको छ । कोरोना जाँचमा भैरहेको सुस्तताले संक्रमणको अवस्था समेत पहिचान नभएको भन्दै चौतर्फी बिरोध भएपछि बल्ल सरकारले परीक्षणको दायरा बढाउने भन्दै आश्वासन बाढिरहेको छ ।

दैनिक चार पाँच सयको हाराहारीमा कोरोना संक्रमित पहिचान हुँदा परिक्षणको दायरा निक्कै सुस्त भएको भन्दै सरकार बिरोधी प्रदर्शन समेत भयो । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । तर परिक्षणको दायरा सोचेजस्तो विस्तार हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिक्षणको दायरा बढाउने दाबी गरिरहेको छ, तर अवस्था ठिक उल्टो ।

पछिल्लो सात दिनको पीसीआर परिक्षणको यो अवस्था हेरौँ
आइतबार ६ हजार ८९
सोमबार ५ हजार ३ सय ६
मंगलबार ५ हजार ५५
बुधबार ६ हजार ३७
बिहिबार ५ हजार ७ सय ४६
शुक्रबार ६ हजार २ सय ३१
शनिबार ७ हजार ४ सय १६
आइतबार ६ हजार ८

पछिल्लो एक साताको यो परिक्षणको अवस्थाले नै देखाइरहेको छ, सरकार कोरोना जाँचको पीसीआर परिक्षणको दायरा बढाउन गम्भिर देखिएको छैन । तर स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले असार १५ देखी परिक्षणको दायरा बढाएर १० हजारदेखी १५ हजार पुर्याउने दाबी गरिरहेका छन् ।

अहिले देशभरका २४ वटा प्रयोगशाला मार्फत स्वाब परिक्षण भैरहेको छ । एउटा मात्र पीसीआर मेसिन जडान भएका प्रयोगशालाको दैनिक क्षमता २ सयदेखि ३ सय नमुना टेष्ट गर्न सक्ने छ । मुस्किलले ३ सय नमुना परिक्षण हुने ल्याबमा एक हजार भन्दा बढी स्वाब संकलन हुँदा हरेक ल्याबमा हजारौँ स्वाब संकलन भएर पनि परिक्षण हुन सकेको छैन ।

अहिले स्वाबहरुको नतिजा आउन कतिपय स्थानमा एक महिनासम्म लाग्ने गरेको छ । अर्कोतिर संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ पनि प्रभावकारी बन्न सकेको छैन । कन्ट्याक्ट ट्रेसिङका लागि १ हजार ७५ जनाको जनशक्तिलाई तीन तीन जनाका दरले परिचालन गर्ने तयारीमा सरकार बल्ल जुटेको छ ।

विदेश जानुपर्ने तथा निरोगिताको प्रमाणपत्र चाहिने लक्षण नभएका व्यक्तिहरुले तोकिएका अस्पतालमा ५ हजार ५ सय तिरेर पिसिआर परीक्षण गर्नेगरि व्यवस्था मिलाइएको छ । अहिलेको अवस्था हेर्दा जनशक्तिसँगै प्रयोगशाला विस्तार र नीजि क्षेत्रसँग आवश्यक सहकार्य गरेर मात्रै सरकार पीसीआर परिक्षणको दायरा बढाउने योजनामा सफल हुने देखिन्छ ।

 



प्रतिक्रिया दिनुहोस्