Logo

आज दश अन्तरराष्ट्रिय उडान, नौ सय यात्रु नेपाल फर्किए



काठमाडौँ, ७ असार : मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन १६ चार्टर्ड उडान भएका छन् । अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ । अन्तरराष्ट्रिय उडानबाट मात्रै ९२१ यात्रु नेपाल फर्किएका छन् । उनीहरुमध्ये अधिकांश विदेशमा अलपत्र परेर स्वदेश फर्किएका नेपाली हुन् । यसअघि यही असार ५ गते पनि एकैदिन अन्तरराष्ट्रियतर्फ नौ र आन्तरिकतर्फ पाँच गरी १५ उडान भएका थिए ।

विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान भइरहेका छन् । आज नेपाल एयरलाइन्सले सर्वाधिक चार, हिमालय एयरलाइन्सले दुई, जजीरा एयरले दुई र फ्लाइट दुबईले समान दुई उडान गरेका छन् ।

नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २४६ यात्रु र एक बच्चा ल्याएको छ । सोही एयरलाइन्सले कतारको दोहाबाट १४६ यात्रु र तीन बच्चा ल्याएको छ । दुबई र ढाकाबाट थप यात्रु ल्याउन निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । यस्तै हिमालय एयरलाइन्सले अबुधाबीबाट १५२ यात्रु र एक बच्चा, मलेसियाबाट २१ यात्रु ल्याएको छ ।

जजीरा एयरले कुवेतबाट १६१ यात्रु र पाँच बच्चा ल्याएको छ भने सोही गन्तब्यबाट थप यात्रु ल्याउन जजीरा एयर त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ । त्यसैगरी फ्लाइट दुबईले १८४ यात्रु र पाँच बच्चा ल्याएको छ । सोही एयरलाइन्सले दुबईबाट कार्गो ल्याउन प्रस्थान गरेको बताइएको छ ।

आन्तरिकतर्फ आज तारा एयरको लुक्लामा एक, मनाङ एयरको लुक्लामा तीन उडान भएका छन् । कैशाल एयरको सङ्खुवासभामा एक र बुद्ध एयरको एक लोकल उडान भएको विज्ञप्तिमा जनाइएको छ ।रासस/File Photo



प्रतिक्रिया दिनुहोस्