Logo

लकडाउन अवधिमै नौ स्थानमा थपियो सीमा प्रहरी



८ असार । एक वर्ष अघि सम्म दाङको नेपाल भारत सीमा क्षेत्रमा एक स्थानमा मात्रै सीमा सुरक्षा प्रहरीको उपस्थिति थियो । कोयलावासमा मात्रै रहेको सीमा सुरक्षा प्रहरीलाई ८३ किलोमिटर सीमा क्षेत्रको निगरानीका लागि हम्मे हम्मे पथ्र्यो । सडक नहुनु, पैदल हिँडेरै सुरक्षाकर्मीहरूले सीमा रक्षार्थ अहम भुमिका निर्वाह गर्दै आए । तर एकै स्थानमा मात्रै रहेको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको उपस्थिति अहिले सीमा क्षेत्रमा बढाइएको छ । फलतः अहिले सीमा सुरक्षामा चुनौती धेरै हद सम्म कम भएको समाचार आजको नागरीकले प्रकाशीत गरेको छ ।

कोयलावास पछि सुनपथरी नाकामा सशस्त्र प्रहरीको दोस्रो सुरक्षा पोष्ट खडा भयो । ‘एक स्थान ९कोयलावास० मा मात्रै सीमा सुरक्षार्थ प्रहरीको उपस्थिति हुँदा सीमा निगरानीमा समस्या भएको थियो,’ दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘एक वर्ष यता सीमा सुरक्षार्थ सशस्त्र प्रहरीको सुरक्षा पोष्ट बढान सुरु गर्यौँ ।’

कोरोना संक्रमणको उच्च जोखिम बढेपछि प्रशासनले नेपाल भारत सीमा क्षेत्रलाई दाङमा कोरोना संक्रमण भित्रन सक्ने प्रमुख जोखिम क्षेत्रका रुपमा मान्यो । भारतमा बढिरहेको संक्रमण यी खुला सीमा नाकाबाट हुने मानिसहरूको आगमनले संक्रमण सहजै भित्रन सक्ने प्रशासनको आँकलन थियो । फलतः कोयलावास र सुनपथरी नाका बाहेकका अन्य खुला आवतजावत बढि हुने नाकामा प्रहरीको उपस्थिति बढाउनु अपरिहार्य नै थियो ।

जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण रोक्न तथा सीमा सुरक्षाका लागि लकडाउन अवधिमै थप ९ स्थानमा सशस्त्र प्रहरीको पहुँच विस्तार गरिदियो । अहिले सशस्त्र प्रहरीको उपस्थिति ११ नाकामा बिस्तार भैसकेको छ । ‘कोरोना संक्रमणको त्रासका कारण पनि खुला रहेको सीमा क्षेत्रबाट वारीपारी हुने मानवीय आउजाउलाई रोक्नु पर्ने नै थियो,यसर्थ पनि सुरक्षा कडाई आवश्यक थियो,’ रिजालले भने, ‘यो संगै सीमा क्षेत्रको सुरक्षाका लागि कमजोर सुरक्षा व्यवस्थापनलाई बढाउने हेतुले लकडाउन अवधीमै थप ९ स्थानमा सुरक्षा पोष्ट खडा गर्यौँ ।’

प्रमुख जिल्ला अधिकारी रिजालले अहिले सीमा क्षेत्रमा सुरक्षा दृष्टिकोणले पहिलेको तुलनामा धेरै बल पुगेको भन्दै नाका क्षेत्रमा सीमा सम्वन्धी कुनै पनि समस्या नरहेको बताए । यसअघि भने, फाट्टफूट्ट रुपमा भारतीय पक्षले हेपाहा व्यवहार देखाउने गरेको गुनासो सीमा क्षेत्रका नेपालीहरूबाट आउने गर्दथे । ‘अहिले सीमा र सीमा क्षेत्रमा बसोबास गर्दै आएका दंगाली नागरिकहरूमा कुनै समस्या छैन,’ प्रजिअ रिजालले भने, ‘स्थानीयलाई पनि प्रहरीको उपस्थिति पाएपछि सुरक्षित महशुस गराइदिएको छ ।’ उनका अनुसार थप आठ स्थानमा छिट्टै सशस्त्र प्रहरीको उपस्थिति बढाउने तयारी भैरहेको छ । यसर्थ सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा केन्द्रीत गर्ने उदेश्यले जिल्लाका कारागारहरूमा समेत सशसत्र प्रहरीको सुरक्षा हटाइएको छ । कारागारहरूको सुरक्षा केही दिन अघि देखि नेपाली सेनाले गर्दै आएको छ । नागरीकबाट



प्रतिक्रिया दिनुहोस्