ठुलो संख्यामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित १० हजार नाघ्यो, औपचारिक जानकारी आउँदै


काठमाडौं, ९ असार । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १० हजार नाघेको छ । आज पनि सयौंको संख्यामा कोरोना संक्रमित थपिएपछि कुल संक्रमित १० हजार नाघेको बुझिएको छ । यसको औपचारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्हको नियमित पत्रकार ब्रिफिङमा दिनेछ ।

पछिल्लो समय दिनहुँ ३ देखि ६ भन्दा बढी कोरोना संक्रमित बढिरहेका छन् । योसँगै नेपालमा नसोचेको संक्रमित संख्या पुग्ने आँकलन गरिएको छ ।

यसअघि हिजो संक्रमित संख्या ९ हजार ५ सय ६१ पुगेको थियो । हिजो ५ सय ३५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो ।

कुल संक्रमित मध्ये ८ सय ९४ महिला र ८ हजार ६ सय ६७ पुरुष छन् । ७६ जिल्लामा संक्रमित भेटिएका छन् । अब रसुवामा मात्र संक्रमित भेटिएका छैनन् । हालसम्म २३ जनाको संक्रमणबाट मृत्यु भएकोमा १८ पुरुष र ५ महिला छन् ।