Logo

भारतीय मिडियाले लेख्यो-चीनको नेपाललाई तिब्बतकै शैलीमा कब्जा गर्ने योजना, ओली सरकार तिब्बतीकरणको सहयोगी भइरहेको आरोप



एजेन्सी, ११ असार । नेपाललाई चीनले तिब्बतलाई जसरी कब्जा गर्ने भन्दै भारतको एक अनलाइन पत्रिकाले विश्लेषणात्मक समाचार प्रकाशित गरेको छ । नेपाललाई चीनले विकासको लोभ देखाइरहँदा सिमा चीनले अतिक्रमण गरेको उल्लेख गर्दै नेपाल तिब्बतीकरणको खतरामा परेको भनेको छ ।

भारतको मध्यमार्गी दक्षिणपन्थी धारको अनलाइन पत्रिका डिएफआइ पोष्टले तिब्बतलाई अतिक्रमण गरेको जस्तै नेपाललाई समेत आफ्नो भूभाग बनाउन तरखरमा चीन रहेको लेखेको हो । चीनले नेपालतर्फ बग्ने सम्पूर्ण नदीको बहावलाई नेपालतर्फ मोड्दै भूभाग अतिक्रमण गरिरहेको उल्लेख छ ।

तिब्बत स्वशासित क्षेत्रमा कब्जा जमाएको योजना अनुसार चीनले उक्त क्षेत्रहरुमा सडक निर्माणको कामलाई तीब्र गतमिा अगाडि बढाइरहेको भनिएको छ । यदी नदीको धार परिर्वन र जमीन अतिक्रमण गर्दै गएमा चीनले छिट्टै नेपाल तर्फको भूभाग तीब्बत तिर समेट्ने लेखिएको छ ।

चीनले नेपालमा बाटोलगायत पूर्वाधार निर्माणको काम बढाएकोतर्फ अंकित गर्दै तिब्बत कब्जा गर्दा पनि यही नीति अपनाएको टीएफआई पोष्टमा भनिएको छ । शुरुमा तिब्बतले पूर्वधार निर्माणका लागि चीनको सहयोग मागेको र पछि चिनियाँ सैनिक विकासका लागि पुगेर नफर्किएको उल्लेख छ । यसलाई नेपालको पछिल्लो घटनाक्रमसँग जोडेर हेरिएको छ ।

गत महिना सीमा विवादमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तीब्बतको जस्तो गल्ती नदोहोराउन नेपाललाई आग्रह गरेका थिए । उनको संकेत तिब्बतीकरणको खतरातर्फ थियो । तीब्बतप्रति चीनले चालेको कदमलाई योगीले स्मरण गराउँदै नेपाल सरकारलाई सचेत भइ कदम चाल्न आग्रह गरेका थिए । उनको भनाई विवादमा परेको थियो ।

यसैगरी, चीनले नेपालस्थित रुई गाँउको प्रत्येक नेपाली भाषामा लेखिएको साइनबोर्ड हटाइसकेको समाचारमा उल्लेख छ । व्यावसाय प्रयोजनको विकास गर्ने नाममा उक्त बोर्डहरु हटाइएको हो । यद्दपी उक्त क्षेत्र अझपनि नेपालको नक्सा रहेको छ । रुई गाँउप्रति चालेको कदमले चीन नेपाललाई फाइदाको रुपमा प्रयोग गरिरहेको छ ।

उक्त क्षेत्रमा विकासका योजनाका नाममा रोजगारी सिर्जना गरेको छ । टीएफआईले रोजगारीको अवसरलाई ओली सरकारले स्वागत गरेको उल्लेख गरेको छ । नेपालप्रति देखाएको राजगारी अवसर विगतमा तीब्बतलाई समेत देखाइएको थियो । पछि चीनले आफ्ना सैन्य शक्तिको बलमा अतिक्रमण गरिएको थियो भन्दै यस प्रति ओली सरकार सचेत हुनुपर्ने उक्त अनलाइनले लेखेको छ ।

विकासको लोभ देखाएर तिब्बतमाथि चीनले कब्जा जमाएको टिएफआइ पोष्टको समाचारमा भनिएको छ । सडक बनाएर त्यही सडकबाट सेना प्रवेश गरी तिब्बत कब्जा गरेको भन्दै नेपालमा त्यस्तै शैली अपनाइएको भनेको छ । रुइ गाउँमा चीनले नेपाली साइनबोर्ड हटाएको तर्फ संकेत गर्दै यसलाई विस्तारवादी योजना अन्तर्गत भनेको छ । ओली सरकारले चीनको तिब्बतीकरणको योजना अनुसार काम गरिरहेको आरोप समत लगाएको छ ।



प्रतिक्रिया दिनुहोस्